आमाको किरिया बस्दै छोरी प्रमिला

राजाराम पौडेल । कलाकार प्रमिला तुलाचनलाई मातृशोक परेको छ । उहाँकी आमा सन्तमाया ताम्राकारको ८९ वर्षको उमेरमा आइतबार निधन भएको हो । पोखरा २ बाग्लुङ बसपार्कमा रहेको तुलाचनको घरमा आइतबार बिहान साढे ९ बजे उहाँको निधन भएको हो ।

ताम्राकारको पार्थिव शरीरमा छोरी प्रमिला तुलाचनले दागबत्ति दिनुभयो । कलाकार तुलाचनले हिन्दू संस्कार अनुसार आमाको दाहसंस्कार तथा काजकिरिया आफैले गरेर कर्तव्य पूरा गर्नुभएकाे छ । उहाँको बुबाको निधन आजभन्दा ३८ वर्ष पहिला नै भइसकेको थियो ।

‘बाबाको निधन भएपछि नै आमा मसँग हुनुहुन्थ्यो । हामी चारजना दिदी बहिनी हौँ । म कान्छी छोरी । दिदीहरुले पनि सधै मलाई तिमी हाम्रो बहिनी हैनौ भाइ हौ भन्नुहुन्थ्यो । मलाई छोराछोरी सबै बराबर हुन भन्ने लाग्छ । मैले छोरी भएर हैन एउटा आमाबाबुको सन्तान भएर आफ्नो कर्तव्य पूरा गरेकी हुँ । मलाई लाग्छ आमा बाबाका लागि छोराछोरी दुवै बराबर हुन्’ कलाकार तुलाचनले पोखरा न्युजसँग भन्नुभयो ।

केही समय स्वास्थ्यमा समस्या भएपछि उपचार गराई अस्पतालबाट घरमा फर्काइसकेको केही दिनमा आमाको निधन भएको तुलाचनको भनाइ छ । ‘अक्सिजन लो भएर फिस्टेल अस्पताल लगिएको थियो । पाँचदिन आईसियु तथा पाँच दिन क्याविनमा राखेर घरमा ल्याएका थियौ । घरमा ल्याएको दुईदिनमा नै उहाँले यो संसारबाट विदा लिनुभयो । आमा सधैभरि मनमा रहिरहनु हुनेछ’ भावुक हुँदै तुलाचनले भन्नुभयो ।

स्वर्गीय सन्तमाया ताम्राकारका ४ छोरी मध्ये कलाकार तुलाचन कान्छी छोरी हुनुहुन्छ । छोरी किरिया बस्नु हुँदैन भन्ने सामाजिक मान्यतालाई परिवर्तन गर्न र छोराछोरी दुवैजना बराबर हुन् मृत्यु संस्कार दुवैले गर्न सक्छन् भन्ने सन्देश प्रवाह गर्न कलाकार तुलाचनले गरेको यो कर्म धेरैको लागि मार्गदर्शक बन्नसक्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button