राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना व्यक्त

पोखरा न्युज। राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान् श्रीकृष्ण जन्मिएका पावन दिनको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज एक शुभकामना सन्देश दिदै विश्वभर हिन्दू धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व मनाउने गरेको स्मरण गर्नुभएको छ । द्वापर युगमा दुर्जनको विनाश र सज्जनको रक्षा गर्नका लागि वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहेको छ ।

राष्ट्रपतिले सन्देशमा भन्नुभएको छ , “यस पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुर्याउने अपेक्षा लिएको छु ।”

राष्ट्रपतिले श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् । कोभिड–१९ को सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै सावधानीका साथ यो पर्व मनाउनु हुनेछ भन्ने पनि राष्ट्रपतिले आशा व्यक्त गरेकी छन् ।

गौरा पर्वका अवसरमा राष्ट्रपतिको सन्देश

यसैगरी राष्ट्रपतिले भाद्र शुक्ल पञ्चमीका दिनदेखि अष्टमीसम्म नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेष रूपमा मनाइने गौरा पर्वका अवसरमा पनि शुभकामना सन्देश दिनुभएको छ ।

सो पर्वमा व्रतालु महिलाहरू गौराघरमा गई शिव र गौरीको पूजा–अर्चना गर्दै पाँच प्रकारको अन्नको मिश्रणबाट बनेको ‘बिरूडा’ लाई प्रसादका रूपमा ग्रहण गरी रमाइलो गर्ने प्रचलन छ । यस चाडमा व्रत बसी शिव र गौरीको पूजा गर्नाले सुख, शान्ति प्राप्त हुने, इष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास रहेको छ ।

यस प्रकारका लोक परम्परा तथा सांस्कृतिक पर्वहरूले हाम्रो जस्तो विविधतायुक्त समाजमा सामाजिक र सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याउँदै आएको राष्ट्रपतिको भनाइ छ ।

राष्ट्रपतिले यस सांस्कृतिक चाड गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सम्पूर्ण नेपालीमा आपसी समझदारी एवं भाइचाराको भावना अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाजको निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ। उनले कोभिड–१९ को सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्दै सावधानीका साथ यो पर्व मनाउनसमेत सबैलाई आग्रह गरेकी छन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button