काठमाडौंमा एक रातमै १२१.५ मिलिमिटर वर्षा, किन भयाे अतिभारी वर्षा ?

  • पोखरा न्यूज
  • २०७८ भाद्र २१
काठमाडौंमा एक रातमै १२१.५ मिलिमिटर वर्षा, किन भयाे अतिभारी वर्षा ?

| डुबान तस्बिर : सामाजिक संजालबाट

पोखरा न्यूज । आइतबार राति काठमाडौं उपत्यकामा अतिभारी वर्षा भएको छ । एक रातमै १२१.५ मिलिमिटर वर्षा हुँदा बागमती र यसका सहायक नदीमा बाढी आएको छ । नदी छेउका वस्ती जलमग्न भएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार तीन/चार दिनदेखिको चर्काे घामपछि विकसित स्थानीय प्रणालीमा बंगलाको खाडीबाट आएको जलवाष्पयुक्त न्यून चापीय क्षेत्र मिसिदा एकाएक अतिभारी वर्षा भएको हो ।

राति साढे २ बजेदेखि ६ बजेसम्म मात्र १००.५ मिलिमिटर वर्षा मापन भएको छ, जुन अतिभारी वर्षा हो । काठमाडौंमा रातिदेखि बिहान ८ः४५ बजेसम्म मात्र १२१.५ मिलिमिटर वर्षा मापन भएको छ । ‘हामीले २४ घन्टाको वर्षा भने पनि राति पानी परेको हो,’ उहाँले भन्नुभयो ।

अर्यालका अनुसार मनसुनमा मनसुनी न्यून चापीय रेखा बन्दा छरपस्ट वर्षा हुन्छ । तर आइतबार राति चैत-वैशाखझै कालोबादल मडारिएर मेघगर्जनसहित पानी परेको हो, जुन मनसुनी चरित्र होइन । आइतबार राति एकै ठाउँमा केन्द्रित वर्षा भएको उहाँले बताउनुभयो ।

बंगलाको खाडीमा विकसित न्यून चापीय क्षेत्र आइतबार साँझ मध्य र पूर्व नेपालबाट प्रवेश गरेको थियो । जलवाष्पयुक्त प्रणाली स्थानीय प्रणालीमा मिसिदा काठमाडौंमा ठूलो वर्षा भयो ।

काठमाडौंमा केही दिन यता चर्काे घामले तापक्रम पनि बढेको थियो । आइतबार मध्यरातिसम्म गर्मी नै थियो । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले  बाढीका कारण  उपत्यकामा  ३८२ घर डुबानमा परेको  र उक्त स्थानबाट  १५० बढीलाई उद्धार गरिएको बताउनुभएको छ  ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस