कलाकारका तीज अनुभव, राति निद्रामा उठेर दर खाइन्थ्यो

तीजमा मामाघर र माइतीघर नै प्यारो

राजाराम पौडेल । तीज पर्वको आफ्नै महत्व रहेको छ । यसलाई मनाउने तरिका पनि ठाउँ, समय र परिस्थिति अनुसार फरक–फरक हुने गरेको छ । केही वर्ष अगाडि मनाउने तीज र अहिले मनाउने तीजमा केही भिन्नता पाउने गरिन्छ । तीजमा केही विकृति समेत भित्रिएको छ ।

वर्षभरि भेट हुन नसकेका दिदी बहिनी तीजमा भेट भएर गीतमार्फत आफ्ना दुःख सुःखका प्रसंग उठाउदै नाच्ने, गाउने रमाउने चलन विगतमा थियो । अहिले आएर यस्तो चलन ज्यादै कम मात्रामा पाइन्छ । झनै कोरोना महामारीका कारण गएको वर्ष र अहिलेको वर्ष तीज खुलेर मनाउन पाइएको छैन । तीज पर्वको अवसरमा आयोजना हुने देश विदेशका कार्यक्रम रोकिएका छन् ।

तीजका कार्यक्रममा व्यस्त हुने कलाकार अहिले घरमा नै हुनुहुन्छ । कलाकारको आर्थिक उपार्जन गर्ने बाटो ठप्प छ । तीज मनाउन ठूला भिड जम्मा हुने अवस्था छैन । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर तीज मनाउनुपर्ने अवस्था छ । सोही कारण तीजको चहलहल खासै देखिएको छैन । तीजमा विवाहित नारीलाई माइतीघर र अविवाहित नारीलाई मामाघर प्यारो लाग्छ । यहाँ हामीले केही कलाकारसँग विगतका तीज अनुभव र यसपालीको तीज मनाउने योजनाका बारेमा बुझ्ने प्रयास गरेका छौँ ।

गायिका सीता रानामगर

बाल्यकालदेखि अहिलेसम्म हाम्रो परम्परा संस्कृति अनुसार तीज मनाउदै आएको छुँ । विशेषगरी बाल्यकालमा दिदी बहिनीहरु जम्मा भएर दर खाने नाच्ने गाउने गरिन्थ्यो । पछि आएर जब म कलाकारिता क्षेत्रमा प्रवेश गरे । कलाकारिता क्षेत्रमा प्रवेश गरेपछि तीजको अवसरमा निरन्तर सांगीतिक कोसेली ल्याउन थाले । जुन अहिलेसम्म निरन्तर जारी छ । हालसम्म मैले एक दर्जन जति तीज गीत पस्किसकेको छु ।

देश विदेशका तीज विशेष कार्यक्रममा सहभागी भएको छुँ । धेरै पटक दिदी बहिनी दर्शकसँग तीज मनाएको छु । २०१५ मा भारतका विभिन्न ठाउँमा, २०१७ मा युएई, २०१९ मा दक्षिण कोरियामा तीज मनाएको मेरो मानसपटलमा ताजै छ । अहिले कोभिडका कारण घरमै बसेर दर खानी घरमा नै नाच्ने गरेर परिवासँग नै तीज मनाउदै छु । म तीजमा ब्रत समेत बस्छु । तीजका सबै प्रसंग रमाइला थिए । तर, कोभिडका कारण गत वर्ष यो वर्षको तीज भने नरमाइलो भएका छन् ।

गायिका तुलसी क्षेत्री

मेरा लागि तीज सधै विशेष रहन्छ । बच्चैदेखि तीज पर्व अरु पर्व भन्दा फरक हुन्थ्यो । मेलामा जाने गीत गाउने नाच्ने गरिन्थ्यो । हाम्रो घरमा दिदी बहिनी धेरै भएकोले अझ रमाइलो हुन्थ्यो । केही वर्ष तीज घर गाउँमै रमाइलो गर्नेभन्दा पनि विभिन्न ठाउँमा हुने तीज कार्यक्रममा गीत गाउँदै सबैसँग नाच्दै मनाए ।

तीजमा म ब्रत बस्छु । मसँग बाल्यअवस्थामा तीजको बेला आयोजना भएका मेलामा जाँदाका रमाइला क्षणहरु ताजै छन् । बाल्यकालमा आमाका तिलहरी, नौ गेडी लगाएर नाचिन्थ्यो । अहिले सम्झदा रमाइलो लाग्छ ।

गायिका सुष्मा ठकुरी
तीजलाई सधै अरु चाडबाडहरु जसरी नै मनाउने गरेको छु । तीजमा ब्रत सानैदेखि बस्ने गरेको छु । यसपालीको तीजमा मैले ‘सानी’ बोलको तीज गीत समेत रिलिज गरेको छु । दर्शक श्रोताले मन पराउनुभएको छ । त्यही कामको समर्थन गर्दै यसपालीको तीजमा मरो आफ्नै कार्यक्रम सुष्मा लोकदोहोरी तरगं समेत सुरुवात गरेको छु ।

अबको केही दिन भित्र सुष्मा ठकुरी अफिसियल युट्युब च्यानलमा गएर दर्शकले नेपालका चर्चित कलाकारहरुको लाइभ दोहोरी सुन्न पाउनुहुने छ । साथै यसपालीको तीजमा अर्को रमाइलो कुरा चाहि के छ भने मेरो श्रीमानले विदेशबाट तीज गिफ्ट आईफोन पठाइदिनुभएको छ । साह्रै खुशी छु ।

गायिका सरस्वती लामिछाने

बाल्यकालको तीज रमाइला थिए । मैले बुझ्ने हुँदाको समयबाटका तीजलाई भुलेको छैन । विशेषगरी सानोमा आमासँग मामाघर गइन्थ्यो । यसरी जाँदाको पल रमाइलो हुन्थ्यो । मामाघरमा हजुरआमाले दर पकाउनुहुन्थ्यो । राती निद्रामा उठाएर दर खाँदाको क्षण आजभोलि सम्झिदा पनि आनन्द लाग्छ । तीजमा ब्रत बस्नुपर्छ । हुनत कहिलेकाही विविध कारणले ब्रत बस्न मिल्दैन । तर मिलेसम्म बस्छु । केही आशा भन्दा पनि धर्म गर्दा म प्रफुल्ल हुन्छु ।

तीजका रमाइलो प्रसंग धेरै छन् । तीज गीत गाउँदा दर्शकले गर्ने सर्पोटले उत्साहित हुन्छु । दर्शकको अगाडि गीत गाउँदा साह्रै आनन्द लाग्छ । दुःख गरे अनुसार फल मिल्दै गएको छ । दर्शकको श्रोताको माया पाउनु जस्तो रमाइलो पल मेरो लागि अरु हुँदैन होला । यसपालीको तीजमा ‘भिर्ने झोलामा’ गीत पस्केको छु । राम्रो साथ पाएको छु ।

निर्देशक तथा कोरियोग्राफर जसु गुरुङ
मसँग तीज मनाएको खासै अनुभव छैन । अहिलेसम्म म ब्रत नै बसेको छैन । बरु तीजको बेलामा आयोजना हुने कार्यक्रम हेरिन्थ्यो । यस्ता कार्यक्रम हेर्दा साह्रै रमाइलो लाग्थ्यो ।

गायिका इतु जोजिजू

तीज मनाइन्छ । तर, ब्रत बस्ने गरेर अहिलेसम्म मनाएको छैन । मेरो मामाहरु नेवार भएपनि क्षेत्री ब्रामणको परिवेशमा बस्नुहुन्छ । त्यसको प्रभाव परेको छ । दरखाने दिदी बहिनी बोलाएर जमघट गर्ने रमाइलो गर्ने तीजको गीत गाउने नाच्ने गरेर नै सानैदेखि मनाउदै आइरहेका छौँ । गाउँने बजाउने नाच्ने चलन छ । मेरो सानीमाहरुले यस्तोमा एकदमै रुचि राख्नुहुन्छ । मादल ल्याएर बजाएर रमाइलो गर्छौ । पहिला–पहिला मामाघरमा हामीलाई दर खान बोलाउनुहुन्थ्यो । टोलका सबै जम्मा भएर तीज गीत गाउने गर्थे । चारैतिर तीज गीत घन्काउने गरिन्थ्यो । अहिले त्यस्तो माहोल छैन । कोरोनाले गर्दा तीजमा असर परेको छ । खुलेर तीजको गीत गाउने रमाइलो गर्ने अवसर गएको वर्ष यो वर्ष मिलेन ।

ब्रतको कुरा गर्दा मलाई आध्यात्मिक तवरले ब्रत बस्नु एकदमै राम्रो छ । यो चलन मनपर्छ । तर म अहिलेसम्म तीजको ब्रत बसेको भने छैन । अरु बसेको राम्रो लाग्छ । रमाइलो लाग्छ । सबैको आ–आफ्नो कल्चर हुन्छ । साधारणतया गेट टुगेदर गर्ने दर खाने परिवारमा रमाउने गर्छु । ठूला–ठूला पार्टी गरेर । टिकट बिकाएर फाइभ स्टारमा गएर तीज मनाउने प्रचलन भने मलाई फिटिक्कै मनपर्दैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button