सुत्ने कोठा नभएपछि १६ वर्षिया छोरी अन्माउने चटाराे

पाेखरा न्यूज । सीतादेवी सदालाई १६ वर्षिया छोरीको विवाह गर्न हतार भएको छ । सन्तानको नाममा तीन छोरी रहेका सप्तरीको छिन्नमस्ता गाउँपालिका हाटी ७ की सदाले छोरीको विवाह गर्न हतार गर्न खोज्नुको कारण घरमा एउटामात्र कोठा हुनु हाे ।

छोरीलाई पढाउने धोको पूरा गर्न घरको समस्याले सीतालाई दिएन । ‘मेरो छोरी यसैपाली एसईई पास गरेकोले उच्च शिक्षा दिने धोको थियोे । घरकै समस्याको कारणले त्यसो हुन सकेन’, उहाँ भन्नुहुन्छ ।

ऐलानी जग्गामा भएको सानो घरमा तीनवटा कोठा छ । सीता आफैँका चार जेठानी देउरानी हुनुहुन्छ । उहाँको सासुससुराको बस्ने घरमा दुई कोठा छ । एउटा कोठामा सासुससुरा र अर्को कोठामा साहिँलो देवर र उहाँका परिवार बस्दै आउनु भएकाे छ । सीता बसेको तीनकोठे घरमा माहिलो र कान्छो देवरको परिवार पनि बस्दै आउनु भएकाे छ ।

एउटै घरमा धेरैजना बस्नुपर्ने बाध्यताले गर्दा सीतालाई हुर्किन थालेका छोरीको विवाह गर्ने हतार भएको छ । ‘१२, १४ र १६ वर्षीया तीन छोरी छन् । सबै तन्नेरी हुनलागेका छन्। एउटै कोठामा तीन छोरी र हामी श्रीमान् श्रीमतीसहित पाँचजनाको गुजारा गर्न समस्या छ’, सीता भन्नुहुन्छ ।

किशोरावस्थामा पुगेका छोरीहरूसहित सबैजना एउटै कोठामा कसरी सुत्छन् भन्दै छिमेकीले कुरा काट्न थालेपछि सीता छोरीहरूको विवाहका लागि केटा खोज्न बाध्य हुनभएकाे उहाँका छिमेकी करियादेवी सदाले बताउनु भएकाे छ।

सीताकी जेठी छोरी एसईई उत्तीर्ण हुनुहुन्छ भने माइली कक्षा १० र कान्छी कक्षा सातमा अध्ययनरत हुनुहुन्छ । तर, दिदीको अध्ययन गर्ने इच्छा अधुरो रहने भयो, सीताकी माहिली छोरी पार्वतीले भन्नुहुन्छ, ‘अब त हामीले पनि पढ्न नपाउने भयौँ ।

कक्षा १० सम्म पढाइ खर्च त्यति नलाग्ने भए पनि घरमा सुत्नका लागि कोठाको व्यवस्था नहुँदा अध्ययन बीचमै छाड्नुपर्ने अवस्थाले सीताकी छोरी पिरोल्लिनु भएकाे छ । ‘हाम्रो समुदायमा छोराछोरी पढाउन त्यति ध्यान दिँदैनन् । हाम्रो आमाबाबु विपन्न भएपनि छोरीहरूलाई पढाएर योग्य बनाउनुपर्छ भन्ने भावना छ। कक्षा १० सम्म पढ्न कापी कलमबाहेक त्यति खर्च लागेन । अब बढी खर्च लाग्छ । घरमा अर्को कोठा पनि छैन’, पार्वतीले भन्नुभयाे ।

उहाँहरूको जग्गा जमिन छैन । बाबुले मजदुरी गरेर पाँचजनाको परिवार पाल्दै आउनु भएकाे छ । सोही वडाका वडाध्यक्ष प्रमिला यादवका अनुसार यस वडाका मुसहर समुदाय विपन्न भएपनि धेरैको छोराछोरीलाई पढाउनुपर्छ भन्ने सोचको विकास भएको छ ।

तर, गरिबीको कारण सक्ने अवस्था छैन । सहयोग गर्न सक्ने हामीले गर्दै आएका छौँ । घरको समस्या यहाँको धेरैलाई भएकोले समस्या समाधान गर्न कठिनाइ भएको उहाँ बताउनु हुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button