माओवादीलाई गोकुल बास्कोटाको प्रश्न : हिजो बैंक लुटेको पैसा खै ?

पाेखरा न्यूज । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले माओवादीले यसअघि कमाएको अवैध सम्पत्तिलाई वैध बनाउन प्रतिस्थापन विधेयक ल्याएको आरोप लगाउनु भएकाे छ ।

पोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले लगानीमा स्रोत देखाउनु नपर्ने व्यवस्था ल्याएर कालोधनलाई सेतो बनाउने प्रयास भएको बताउनु भएकाे हाे । ‘केही क्षेत्रमा लगानी गर्दा स्रोत देखाउन नपर्ने भनिएको छ । यस्को तात्पर्य सीधा छ । सत्ताका गठबन्धनको कसैको अवैध पैसा छ । त्यो कालोधनलाई सेतो बनाउनुपर्‍यो,’ उहाँ भन्नुहुन्छ, ‘हामीले प्रश्न उठाउनुपर्ने भयो कि हिजो बैंक लुटेको पैसा कहाँ छ ?’

उहाँले सबैसँग चन्दा बटुलेर अकुत सम्पत्ति कमाएको आरोप पनि लगाउनु भएकाे छ । ‘किसानसित, कुखुरा र भैंसी व्यापारिसित पनि चन्दा उठाइयो । हिजो माष्टरले तलब बुझ्न पाएनन् । जसले तलब बुझ्छ, माओवादी पुगिहाल्थ्यो,’ बास्कोटाले भन्नुभयाे, ‘आज माओवादीको अर्थमन्त्री हुँदा यो अवैध सम्पत्तिको श्रोत देखाउनु नपर्ने ? केही मान्छेले अवैध ढंगले कमाएको अकुत सम्पत्तिलाई वैधानिककरण गर्न विधेयकको प्रतिस्थापन विधेयक ल्याएर सुशासन आउँछ ?’ यस्तो व्यवस्थाले देश नै कालोसूचीमा पर्न सक्ने भन्दै उहाँले विरोध जनाउनु भएकाे छ ।

एमसीसी विवाद माओवादी अध्यक्ष प्रचण्डले गिजोलेको उहाँको आरोप छ । ‘एमसीसी गिजोलेको प्रचण्डले मात्रै हो । सत्तामा हुँदा एउटा कुरा, बाहिर हुँदा अर्को कुरा गर्छन् । वैदेशिक सहायता मजाकको कुरा हो ?,’ उहाँ भन्नुहुन्छ, ‘एमाले सरकार हुँदा संसदमा पेस गर्ने भनेका थियौं । रोकेको सभामुखले होइन ? कुनै पनि देशसँग पुँजी र प्रविधि सहयोग लिन सकिन्छ । तर स्वाधीनता र संविधानमाथि प्रश्न उठ्नु हुँदैन ।’

एमाले विभाजन नभएको दावी गर्दै उहाँले माधवकुमार नेपाल एमालेको अवैध सन्तान भएको आरोप लगाउनु भयाे । ‘एमाले फुटेको होइन, काँचुली फेरेको हो । हरेक वसन्तमा नयाँ पात पलाउँछ । एमालेबाट केही मान्छे गए, हामीले काँचुली फेर्‍यौं,’ उहाँ भन्नुभएकाे छ, ‘कसैलाई एमालेको नाम सुन्दा नाक छोप्नुपर्ने भएको छ रे । माधव नेपाल त्यसो भए माधव नेपाल अवैध सन्तान हुन् ? आफैलाई जन्माएको बाउआमा नचिन्ने कुपुत्र हुन् ?’ उहाँले संसद अवरोध कायम रहने पनि स्पष्ट पार्नु भएकाे छ

पूर्व सञ्चारमन्त्री समेत रहनु भएका बास्कोटाले मिडियाको घाँटी थिच्नेगरी कुनै पनि कानून स्वीकार्य नभएको सुनाउनु भयाे । ‘मिडिया विना लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन,’ उहाँ भन्नुहुन्छ, ‘तर मिडिया पनि पाठकको कठघरामा उभिनुपर्छ । आँफै करेक्सन हुनुपर्छ ।’

प्रदेशका मिडिया विधेयकहरु सैद्धान्तिक हिसाबले पास नहुने उहाँको भनाइ थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button