पोखरा न्यूज । पोखरा महानगरपालिकामा सुरेन्द्रमान बिजुक्छे नेपाली काँग्रेसको नगर सभापतिमा निर्वाचित हुनुभएको छ । काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत शनिबार भएको नगर अधिवेशनबाट बिजुक्छे सभापतिमा निर्वाचित हुनुभएको हो ।
आइतबार बिहान घोषित मत परिणामअनुसार उहाँले ४१४ मत प्राप्त गर्नुभएको हो । कुल १३ सय ४४ मत खसेकोमा प्रत्यासी गंगाधर पराजुलीले ३४६ मत प्राप्त गर्नुभयो ।
महानगरको सभापति पदमा ६ जनाले उम्मेदवारी दिनुभएको थियो । जसमा उम्मेदवार रामराज लामिछानेले २०९ मत, मिलन तिवारीले १५३ , मोहन बास्तोलाले १२६ र ज्योति हमालले ११ मत प्राप्त गर्नुभयो ।
पोखरा उद्योग वाणिज्य सङ्घको महासचिव समेत रहनुभएका बिजुक्छे यसअघि नेपाली काँग्रेसको पोखरा महानगरको उपसभापति हुनुहुन्थ्यो ।
यसै गरी उपसभापतिमा ५६९ मत प्राप्त गर्दै प्रयागराज भण्डारी र ४६४ मत प्राप्त गर्दै भवसागर बराल निर्वाचित हुनुभएको छ । उपसभापतिका ६ जना प्रत्यासी रहेकोमा निर्दोशविक्रम पौडेलले ४०७, राजेन्द्र बरालले ३७५, कृष्णप्रसाद अधिकारीले ३६८ र शिव केसीले १६८ मत प्राप्त गर्नुभयो ।
दुई जना निर्वाचित हुने महानगरको सचिवमा टुवराज बास्तोला र गणेशबहादुर थापा विजयी हुनुभयो । बाँस्तोलाले ८५८ मत र थापाले ७८९ मत प्राप्त गर्नुभयो । सचिवका अर्का प्रतिस्पर्धी सुरेन्द्रबाबु तिवारीले ६२१ मत प्राप्त गर्नुभयो ।
सहसचिवमा ५८० मत प्राप्त गर्दै संघर्ष कोइराला र ४६५ मत प्राप्त गर्दै सञ्जय आले निर्वाचित हुनुभयो । सहसचविका ६ उम्मेदवार मध्ये नरेन्द्र बास्तोलाले ४३१, पुष्पराज सिग्देलले २४४, रवीन कायस्थले २७८, लक्ष्मी बास्तोलाले ३८६ मत प्राप्त गर्नुभयो ।