पोखराको स्मार्ट यातायातमा दक्षिण कोरियाले सहयोग गर्ने

पोखरा न्यूज , ११ असोज । पोखराको यातायात व्यवस्था अस्तव्यस्त छ । दुई वर्ष पहिले यातायातलाई चुस्त बनाउनका लागि पोखरा महानगरले मेट्रो कार्डको अवधारणा ल्याएको थियो । पोखरा यातायातसँग मिलेर बनाइएको उक्त कार्ड कार्यान्वयन नहुँदै हरायो ।

त्यसैले दक्षिण कोरियाले पोखराको यातायातलाई व्यवस्थित बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । पोखरा घुम्न आएका नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क चोङ सुकले पोखरासँग आफूहरूको पुरानो सम्बन्ध भएको बताउँदै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सुकसँग गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सहयोगको प्रस्ताव राख्नुभएको थियो । पोखरा र आसपासको भौगोगिक अवस्थितिबाट आफू प्रभावित भएको भन्दै उहाँले स्मार्ट यातायात संचालनबारे चासो राख्नुभएको थियो । पोखराले दक्षिण कोरियाका दुईवटा शहरसँग भगिनी सम्बन्ध गाँसेको छ ।

मुख्यमन्त्री पोखरेलले नेपाल र गण्डकी प्रदेशका पनि हजारौँ युवाहरूले रोजगारीका लागि दक्षिण कोरिया रोज्ने गरेको भन्दै प्रविधि सिक्न दक्षिण कोरिया आफ्ना लागि उपयुक्त अवसर भएको बताउनुभयो । ‘नेपालमा प्रविधिको विकास तथा विस्तारमा दक्षिण कोरियाको सहयोग अपरिहार्य छ । शिक्षा, स्वास्थ्य र ग्रामीण विकासमा हामी केही गर्न र सिक्न चाहन्छौँ’, उहाँले भन्नुभयो, ‘अहिलेसम्म धेरै काम भएका छन् । अझै धेरै गर्न बाँकी छ ।’

दक्षिण कोरियाली राजदूत सुकले कोरिया गण्डकी प्रदेशको व्यापार प्रवर्द्धनमा सघाउन तयार रहेको बताउनुभयो । नेपालका थप युवालाई रोजगारी दिनेबारेमा पनि कोरिया सरकारले योजना बनाइरहेको उहाँको भनाइ छ ।

प्रदेश सरकारले गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानको भवन निर्माणका लागि कोरियाली राजदूतावाससँग सहयोग मागेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button