भ्यु टावरमा बजेट खन्याउँदै तनहुँका स्थानीय सरकार

पाेखरा न्यूज । पछिल्लो समय अग्ला डाँडामा प्राकृतिक सुन्दरता मासिने गरेर कंक्रिट र फलामका अग्ला भ्यु टावर ठड्याउने होडबाजी चलेको छ । निकै अग्ला डाँडामा भ्यु टावर ठड्याउन संघीय, प्रदेश र स्थानीय सरकारले प्रतिस्पर्धा नै गरे जस्तो देखिन्छ । प्रकृतिले स्वतः दिएको उचाइलाई होच्याउँदै कृत्रिम भ्यु टावर निर्माण गर्न तनहुँका स्थानीय सरकारले बजेट खन्याइरहेका छन् ।

२०७४ सालमा स्थानीय सरकारमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि मात्र जिल्लामा आधा दर्जन भ्यु टावर ठडिएका छन् । अनुत्पादक क्षेत्रमा लगानी गर्न सिपालु स्थानीय सरकार र जनप्रतिनिधिले कार्यकालको अन्तिम वर्ष पनि नौ वटा भ्यु टावर थप्दैछन् । तीमध्ये कुनै निर्माणाधीन छन्, कहीँ बजेट विनियोजन गरिएको छ । स्थानीय सरकारले डाँडालाई पर्यटकीय गन्तव्य बनाउन भन्दै भ्युटावर ठड्याएका त छन्, तर ती डाँडामा अरु पूर्वाधार थप्न न चासो छ न लगानी ।

सदरमुकाम दमौली बजारको पश्चिमपट्टि मानहुँकोटको अग्लो डाँडा छ । दमौली बजारबाट हेर्दा त्यो डाँडाबाट आकाश छोइएला जस्तै देखिन्छ । सामुन्द्रिक सतहबाट झण्डै ११ सय मिटरको उचाइमा रहेको मानहुँकोटमा सार्वजनिक शौचालयसमेत बनाउन नभ्याएको व्यास नगरपालिकाले भ्यु टावर ठड्याइदिएको छ । गत वर्षको हिउँदमा पर्यटकको अत्यधिक आगमन भएपछि पूर्वाधार थप्न कस्सिएर व्यासले भ्यु टावर ठड्याएको हो ।

आफैमा प्राकृतिक भ्यु टावर मानहुँकोट डाँडामा नगरपालिकाले ३५ लाख ५९ हजार १ सय ८६ रुपैयाँ लगानी गरेर कंक्रिटको भ्यु टावर ठड्याउन सफल भएको छ । दुई तलाको भ्यु टावरको भुईं तलामा एउटा कोठा र शौचालय छ । पहिलो र दोस्रो तलामा बसेर पर्यटकले दमौली बजार र हिमश्रृंखलाको दृश्य नियाल्नेछन् । जुन दृश्य भ्यु टावरको जग भन्दा तल रहेको चौरबाट पनि स्पष्ट देख्न सकिन्छ ।

नयाँ बनेको भ्यु टावरमा चढेर पर्यटकले फोटो खिच्छन्, भिडियो बनाउँछन् र रमाउँछन् । तर, मानहुँकोटका स्थानीयको मन भ्यु टावरले मात्रै रमाउन सकेको छैन । भ्यु टावर भन्दा पहिले अरु पूर्वाधार बनाउन स्थानीय सरकार चुकेको उनीहरू बताउँछन् । ‘भ्यु टावर त यही डाँडो थियो नि । त्यो भ्यु टावरमा हालेको रकम पानीमा हाल्दिए जनता कति रमाउँथे होला ! मैले मेयरसित पनि भनेको हो । वडाध्यक्षलाई भनेको पनि हो भ्यु टावर के को आवश्यकता थियो र भनेर’, स्थानीय रेवती आलेले भन्नुभयाे। मानहुँकोटमा खानेपानीको चरम समस्या छ । दमौली बजारबाट जार र ट्यांकरमा पानी मगाएर गुजारा चलाउन बाध्य छन् स्थानीय । बर्खामा आकाशे पानी संकलन गरेर प्रयोग गर्दछन् ।

मानहुँकोटमा रेस्टुरेन्ट चलाइरहनु भएकी ईन्द्रा परियार भ्यु टावरमा चढ्न पाउँदा पर्यटक खुसी हुने गरेको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, ‘भ्यु टावरले दमौली बजारमात्रै फोकस भयो । दमौली बजार टावर नभए नि देखिन्थ्यो । भ्यु टावरबाट जताततै देखिने गरेर बनाउनुपर्ने थियो ।’ भ्यु टावर भन्दा पहिला पदमार्ग, प्रतीक्षालय, पार्क निर्माण र खानेपानीको व्यवस्थापन गरेको भए उत्तम हुने उहाँको भनाई छ ।

व्यास नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि मानहुँकोट भन्दा अझ अग्लो डाँडा व्यास–६ गलेखामकोटमा पनि भ्यु टावर बनाउन सफल भएको छ । साबिकको गाउँ विकास समितिले निर्माण सुरु गरेको भ्यु टावरलाई आर्थिक वर्ष २०७६/०७७ मा १६ लाख ५० हजार रुपैयाँ खर्चिएर व्यासले पूर्णता दिएको हो ।

अग्ला डाँडामा भ्यु टावर निर्माणलाई अनावश्यक भन्दै आलोचना भइरहँदा पर्यटन प्रबद्र्धनमा भ्यु टावर परिणाममुखी लगानी भएको व्यासका मेयर वैकुण्ठ न्यौपाने बताउनु भयाे । पर्यटन प्रबद्र्धनका लागी भ्युटावर बनाएको उहाँको भनाई छ । ‘मान्छेहरू दायाँबायाँ लाग्छन् भनेर एउटा पोइन्टबाट हेर्नलाई हामीले भ्यु पोइन्ट बनाएको हौं । त्यसले त पर्यटकीय प्रवर्द्धन हुन्छ, आर्थिक फाइदा हुन्छ । नबुझेका मान्छेहरूले टीकाटिप्पणी गर्छन् । अझ माथिल्लो ठाउँबाट हेर्न पाइन्छ भन्ने उद्देश्यले पर्यटक आउँछन्’, उहाँले भन्नुभयाे ।

भ्यु टावर निर्माणको प्रतिस्पर्धामा जिल्लाका स्थानीय सरकारमा घिरिङ गाउँपालिका सबैभन्दा अगाडि देखिएको छ । अग्ला अग्ला डाँडाले भरिपूर्ण घिरिङले आर्थिक २०७६/७७ मा वडा नम्बर ३ को घिरिङकोट डाँडामा भ्यु टावर निर्माण गरिसकेको छ । गाउँपालिकाले १९ लाख ९८ हजार २४ रुपैयाँको लागतमा भ्यु टावर निर्माण गरेको हो ।

हाल दुई वटा भ्यु टावर निर्माण हुँदैछ । घिरिङ–५ चन्द्रकोटमा १५ लाख ५ हजार २ सय ८३ रुपैयाँमा ठेक्का लगाएर गत चैतबाट काम भइरहेको छ । वडा नम्बर २ को गजरकोटमा उपभोक्ता समितिमार्फत भ्यु टावर निर्माणको काम भइरहेको छ । गत वर्ष गाउँपालिकाले ९ लाख ९९ हजार रुपैयाँ भुक्तानी गर्‍यो । भ्यु टावर निर्माणलाई पूर्णता दिन यो आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन गरेको छ । यस्तै, चालु आर्थिक वर्षमा वडा नम्बर ५ को च्याचुलमा र वडा नम्बर ४ उम्सेमा भ्यु टावर बनाउनलाई १०/१० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

किन यति धेरै भ्यु टावर भन्ने प्रश्नमा गाउँपालिका अध्यक्ष रनबहादुर रानाको जवाफ थियो, ‘पर्यटन हब बनाउँदै घिरिङ गाउँपालिकाको नारालाई सार्थक साबित गर्न ।’ उहाँले घिरिङको ऐतिहासिक महत्त्वलाई पर्यटनसँग जोडेर स्थानीयको जीवनस्तर उकास्ने लक्ष्य रहेको सुनाउनु भयाे । भ्यु टावर बनेपछि होमस्टेमा आउने पर्यटक बढेको उहाँको दाबी छ । पर्यटन उकास्न गाउँपालिकाले होमस्टे, ताल निर्माणमा पनि बजेट छुट्याएको अध्यक्ष रानाले बताउनु भयाे ।

ऋषिङ गाउँपालिका–३ दुबुङमा गत वर्ष १० लाख लगानी गरेर भ्युटावर बनाइएको छ । दुबुङ तनहुँका अग्ला डाँडाहरू मध्येमा गनिन्छ । गत आर्थिक वर्ष प्रदेश सरकारको सशर्त अनुदानको रकमबाट १० लाख रुपैयाँ विनियोजन गरेर ऋषिङ–९ गढीडाँडामा भ्यु टावर बनाउन गाउँपालिकाले थालनी गरेको छ । निर्माणको चरणमा रहेको भ्युटावरलाई यो वर्ष पनि ऋषिङ गाउँपालिकाले आठ लाख रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै गाउँपालिकाले चण्डीकालिका भ्यु टावर निर्माण शीर्षकमा ६ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाका योजना शाखाका प्रमुख चिनबहादुर रानाभाटले बताउनु भयाे ।

अग्ला डाँडामा भ्यु टावर बनाउनु बाध्यता र रहरसँगै जनचाहना जोडिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, ‘भ्यु टावर बनाउनु बाध्यता रहरसँगै ऋषिङका नागरिकहरूको चाहना जोडिएर नै गाउँसभाबाट बजेट छुट्ट्याएको हो ।’ जनप्रतिनिधिलाई काम गर्न फलामे चिउरा चपाए जस्तै भइरहेको उहाँको भनाइ छ । ‘नबनाए पनि त्यहाँ बनाएन भन्ने हुन्छ । बनाउँदा नि सुख छैन, नबनाउँदा नि सुख छैन, जनप्रतिनिधिलाई फलामको चिउरा भाछ’, उहाँले भन्नुभयाे । अध्यक्ष श्रेष्ठ भ्यु टावरमा भएको लगानीलाई अनुत्पादक मान्न तयार छैनन् । भ्यु टावरले ऋषिङको महत्त्वलाई अझ बढाएको उहाँको दाबी छ ।

भिमाद नगरपालिकामा जनप्रतिनिधि आएपछि यहाँका दुई वटा अग्ला डाँडामा भ्यु टावर ठड्याइएको छ । भिमाद नगरपालिका–८ राङरुङ्ग पिपलडाँडा र भिमाद नगरपालिका–९ पाइमीको डाँडामा भ्यु टावर ठड्याइएको हो । पिपलडाँडामा भिमाद नगरपालिकाकी उपमेयर शारदा खनालको जोडबलमा भ्यु टावर ठड्याइएको हो । किनकि राङरुङ उहाँको पुर्ख्यौली गाउँ हो । र भ्युटावरको नजिकै उहाँका छोराले रिसोर्ट सञ्चालन गरिरहनु भएकाे छ ।

आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा नगरपालिकाले भ्यु टावर निर्माणमा ११ लाख रुपैयाँ लगानी गरेको वडाध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिनुभयाे । डाँडोमा १०/१५ मिटर अग्लो भ्यु टावर ठड्याउनु उपलब्धिमूलक नभएको वडाध्यक्ष श्रेष्ठ नै स्विकार्नुहुन्छ। तर भ्यु टावरले सौन्दर्यता थप्दा पर्यटक बढाएको उहाँको जिकिर छ ।

पिपलडाँडाको भ्यु टावरले राङरुङको पर्यटकीय सम्भावना उजागर गरेको राङरुङ ठुलो हटिया टोल विकास संस्थाका अध्यक्ष अशोकसुन्दर श्रेष्ठले बताउनुभयाे ।

पाइमीमा आर्थिक वर्ष २०७५/७६ मा ६ लाख ७५ हजार रुपैयाँ लगानी गरेर भ्यु टावर निर्माण गरिएको हो । नगरपालिकाले लगानी गरेको रकममा स्थानीयले १० प्रतिशत जनश्रमदान गरेका थिए । वडाध्यक्ष इमानबहादुर थापा पर्यटक भित्र्याएर स्थानीयको जीवनस्तर उकास्न भ्यु टावर निर्माण गरेको बताउनुहुन्छ । तर स्थानीयको जीवनस्तरमा केही प्रभाव पारेको छैन । ‘स्थानीयको जीवनस्तरमा परिवर्तन ल्याउन भने सकेको छैन’, वडाध्यक्ष थापा नै स्विकार्नुहुन्छ ।

यो आर्थिक वर्षमा भिमादले वडा नम्बर १ को कोटडाँडामा भ्यु टावर बनाउनलाई पाँच लाख रुपैयाँ विनियोजन गरेको छ । भिमाद नगरपालिका–५ मिर्छुलुङ्गमा स्थानीयले लगानी गरेर भ्यु टावर बनाउँदैछन् । उक्त भ्यु टावर निर्माणमा पनि सहयोग गर्ने वडाध्यक्ष पदमबहादुर थापाले जानकारी दिनुभयाे ।

भानु नगरपालिकाले यो वर्ष ५ तले फलामे भ्यु टावर ठड्याउँदैछ । भानु–९ गढीडाँडामा भ्यु टावर बनाउनलाई नगरपालिकाले ५९ लाख ६५ हजार रुपैयाँमा आर्कलाइट इञ्जिनियर प्रालीलाई गएको २८ बैशाखमा ठेक्का दिएको हो । आगामी २७ बैशाखमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ, तर काम सुरु भएकै छैन । गढीमाई मन्दिर क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन भ्यु टावरको योजना अगाडी सारेको वडाध्यक्ष निलम संजिवा श्रेष्ठले बताउनु भयाे । उहाँका अनुसार भ्यु टावर चढेर पर्यटकले हिमाल हेर्नेछन्, डाँडाकाँडा नियाल्नेछन् ।

संघीय सरकारसँगको सहकार्यमा वडा नम्बर २ को घण्टाचुलीमा देवघाट गाउँपालिकाले पर्यटन विकासका लागी विभिन्न पूर्वाधार निर्माण गर्दैछ । दुई करोड ९४ लाख रुपैयाँमा घण्टाचुली पर्यटन विकासका लागी ठेक्का दिइएको छ । त्यहाँ पनि भ्यु टावरसँगै लिफ्टिङ खानेपानी, पैदलमार्ग, रानीपोखरी निर्माण लगायतका संरचना बन्दैछन् ।

पर्यटनकर्मी भन्छन्, ‘कंक्रिटका भ्यु टावरले न पर्यटक बढाउँछ, न प्रकृतिको सौन्दर्यता थप्छ ।’ तर, स्थानीय सरकारको चेत खुलेको छैन । पूर्वाधारलाई विकासको आधार मान्ने स्थानीय सरकारका जनप्रतिनिधि भ्यु टावरलाई आफ्नो कार्यकालको महत्त्वपूर्ण उपलब्धि ठान्छन् ।

नेपाल पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा नेपालका डाँडाकाँडा आफैँमा प्राकृतिक भ्यु टावर भएकाले मानव निर्मित कंक्रिटको टावर आवश्यक नरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘भ्यु टावर मात्रै बनाउँदैमा पर्यटन फस्टाउँदैन । त्यसको सट्टा अन्य पर्यटकीय आकर्षण बढाए राम्रो हुन्छ । डाँडामा कंक्रिटको टावर बनाएर लाग्नुपर्ने जरुरी छैन ।’ भ्यु टावरको सट्टा प्रकृति संरक्षण, संस्कृति संरक्षणसँगै अरु पर्यटकीय पूर्वाधार थप्दा उपयुक्त हुने सापकोटाले बताउनु भयाे । भ्यु टावरको लगानी पर्यटन क्षेत्रमा पनि अनुत्पादक हुने उहाँको भनाइ छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button