कास्कीमा एमालेकाे वडा अधिवेशन अझै टुंगिएन

पाेखरा न्यूज । १०औं महाधिवेशनको संघारमा रहेको नेकपा एमालेको अहिले स्थानीय तहमा अधिवेशन चलिरहेको छ । सबैजसो जिल्लामा वडा अधिवेशन सकिएको छ ।

मंगलबार देशैभरि पालिकास्तरीय अधिवेसन छ । तर कास्कीमा अहिलेसम्म वडा अधिवेशन नै सकिएको छैन । ७२ मध्ये ६६ वटा वडाको अधिवेशन मात्रै सकिएको हो । अझै ६ वटा वडा बाँकी छन् ।

‘सर्वसम्मतको प्रयास गरिएको हो । त्यसैले केही ढिलो भयो,’ एमाले नेता बैनबहादुर अधिकारीले भन्नुभएकाे छ, ‘सके अझै सर्वसम्मत गर्छौं । नत्र अब चुनावमा जान्छ ।’ पोखरा ९, २०, २१, २३ र २६ तथा माछापुच्छ्रे गाउँपालिकाको वडा नम्बर ३ मा अधिवेशन आज सुरु भएको छ ।

‘केहीमा उद्घाटन पछि रोकियो । कतै बन्द सत्र चल्दाचल्दै स्थगित भएका छन्,’ एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले भन्नुभयाे, ‘आज पनि मतदान सायद हुँदैन होला । सर्वसम्मतमै जोड दिएका छौं ।’ उहाँका अनुसार पालिकाका लागि मतदाता पनि आजै चयन हुनेछन् ।

पोखरामा आठ सय हाराहारी मतदाता हुनेछन् । पालिकामा दुईदेखि पाँच सयसम्मले मतदान गर्ने छन् । ‘आज ५ बजेसम्म सबै आइसक्नुपर्छ । आउँछ पनि,’ थापाले भन्नुभयाे, ‘पालिकामा समेत सर्बसम्मत नेतृत्व चयन हुन्छन् । प्रजातन्त्रमा सर्वसम्मत भएपछि उच्चतम उपयोग भइहाल्यो ।’ अहिलेसम्म पालिकाको नेतृत्वका लागि खुलेर उम्मेदवारी कसैले सार्वजनिक गरेका छैनन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button