म महासचिवमा उठ्छुः पृथ्वीसुब्बा गुरुङ

केपी ओली रहँदासम्म अध्यक्षमा अरु विकल्प छैन

पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशबाटै पहिलो पदाधिकारी हुने भाग्यमानी एमाले नेता हुनुहुन्छ। पूर्वमुख्यमन्त्री गुरुङ एमालेकाे गण्डकी प्रदेशका पूर्व इन्चार्ज पनि हुनुहुन्छ । हाल एमाले सचिव उहाँ दशौं महाधिवेशनमा माथिल्लो पदको खोजीमा हनुहुन्छ । सोही कारण गुरुङले आसन्न महाधिवेशनमा महासचिवमा दाबी गर्ने घोषण गर्नुभएकाे छ । तर सहमतिमा नेतृत्व चयन भए उपाध्यक्ष वा उपमहासचिवमा चित्त बुझाउन सकिने संकेत पनि गर्नुभएकाे छ । गुरुङसँग गरिएको संक्षिप्त कुराकानीः

 

महाधिवेशनको तयारी कसरी गरिरहनु भएको छ ?

पहिले पार्टीको तयारी गर्नुपर्ने छ । मलाई मूल व्यवस्थापनभित्र प्रतिनिधि व्यवस्थापन समितिमा राखिएको छ । त्यही काममा लागेको छु । सातवटा भौगोलिक, उपत्यका, प्रदेश समन्वय र प्रवास कमिटी गरी १० वटा कमिटी हुने भएको छ । विधान महाधिवेशन साढे ६ हजारको उपस्थितिमा गरियो । एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीका कारण पार्टी कुन अवस्थामा छ भनेर हेर्नुपर्ने थियो । केही समस्या छैन, पार्टी सही सलामत छ भन्ने सन्देश दिन सफल भयौं । यो पटक जनमत कता छ भनेर हेर्नुछ ।

कम्तीमा पाँच लाख जनता चितवनमा उतार्नुपर्ने छ । गण्डकीबाट ६० हजार जुटाउने जिम्मा दिएको छ । नवलपुरबाटै ६० हजार जान्छन् । पोखराबाटै २० हजार जान्छन्, अरु जिल्लाबाट दुई हजार २५ सयका दरले जान्छन् । जनपरिचालन व्यापक रूपमा भएको छ । त्यो भन्दा ठूलो एजेन्डा नेतृत्व चयन हो । अहिलेसम्म ठोस तयारी भएको छैन । अध्यक्षले बुझ्दै हुनुहोला ।

एमालेले सबैतिर सर्वसम्मत गर्दै महाधिवेशनको मुखमा पुगेको छ, केन्द्रीय समिति पनि सर्वसम्मत हुने हो ?

सकभर सर्वसम्मत गर्ने भनेको हो । तर सर्वसम्मत गर्न गाह्रो छ । तलतिर त माथिबाट निर्देशन भएका कारण सजिलो भयो । माथि दुई सय २५ सिट छ । संख्या घटेको छ । पार्टी ठूलो हुँदा नचलेका कारण त्यसबाट शिक्षा लिएर घटाएका हौं । १५ जना मात्रै पदाधिकारी छन् । पदाधिकारीमा धेरै सर्वसम्मत हुन सक्छ । भीम रावलजी अलि असन्तुष्ट हुनुहुन्छ । उहाँ अध्यक्ष लड्ने भन्नुभएको छ । अध्यक्षज्यूसँग कसरी डिल हुन्छ हेर्न बाँकी छ । अरुतिर त सर्वसम्मत हुन्छ होला ।

पार्टी एकीकरणपछि तपाईं गण्डकी इन्चार्ज हुनुभयो । गण्डकीबाट केन्द्रीय समिति यसअघि खासै राम्रो उपस्थिति छैन, अहिले के तयारी छ ?

म मुख्यमन्त्री बन्नु केहीअघि पार्टीको इन्चार्ज भएर आएको हुँ । त्यस हिसाबले इन्चार्ज नरहे पनि अहिले पनि अभिभावकत्व मैले नै दिनुपरेको छ । सार्थीहरूले मसँग अपेक्षा गर्नुभएको छ । भौगोलिक रूपमा हेर्दा सबैभन्दा व्यवस्थित हाम्रै प्रदेशमा छ । एकीकरणसमेत राम्रो छ र आन्तरिक व्यवस्थापनमा जुन योगदान पु¥यायो, त्यस हिसाबले केन्द्रीय समितिमा हाम्रो दाबी बढी हुन्छ । विद्यमान केन्द्रीय समितिमा रहेकाहरू स्वतः रहनुपर्छ र केही नयाँ पनि लैजानुपर्छ । महिलाहरू सबै जिल्लाबाट कम्तीमा एकजना लैजानुपर्छ । पदाधिकारी १५ मध्ये तीनवटा सिटमा हाम्रो दाबा स्वाभाविक हुन्छ ।

म अहिले पदाधिकारीमा एक्लै हो । मेरो योगदानका आधारमा पार्टीले फेरि पनि मलाई सचिवमै बस भन्दैन भन्ने लागेको छ । म त्यो भन्दा माथि हुनुपर्छ । सकेसम्म महासचिव नत्र उपाध्यक्ष वा उपमहासचिव हुनुपर्छ । अरु सिटमा किरणजी, खगराजजी हुनुहुन्छ । महिला खोज्दा पद्याजी हुनुहुन्छ । अध्यक्षज्यूले पनि राम्रो मूल्यांकन गर्नुभएको छ । सकेसम्म चारजनै खोज्ने हो । नभए पनि तीन जना त पाउनै पर्छ । ४५ जनाभित्र सात जनामा गण्डकीको दावा हुन्छ ।

तपाईंको उम्मेदवारी चाहिँ केमा हुनेछ ?

मैले खोजेको महासचिव नै हो । किनभने एमालेभित्र जुन समस्या छ, त्यसको बेलैमा समाधान गर्नुपर्ने छ । त्यसमा मेरो भिजन छुट्टै छ । समस्याको पहिचान मैले गरेको छु । उदारवाद, अवसरवाद, संकीर्णतावाद, जडशूत्रवाद र सांगठानिक अराजकता छ । त्यसको अन्त्य गरेर समावेशी एमाले बनाउनुपर्ने छ । जनतामा आधारित, अनुशासित, एकताबद्ध र भावनात्मक रूपमा एकताबद्ध एमाले बनाउनुपर्ने छ ।

केन्द्रीय बैठकमा जाँदा संगठनको बारेमा कसैले नयाँ पनि दिएको छैन । अरु पार्टीमा विभिन्न सेना भन्छन्, हामीले निर्माणको सेना भनेका छौं । जनप्रतिनिधिहरू निर्माणमा लाग भनेका छौं । तर कसरी परिचालन गर्ने भनेर ठोस अवधारणा बनेको छैन । संगठन र पार्टीबीच तथा संगठन–संगठनबीचको सम्बन्ध कसरी राख्ने भनेर ठोस अवधारणा बनाउनुभएका साथीहरू देख्दिनँ । त्यसकारण मैले महासचिवका लागि डिजर्व गर्छु । अरु पार्टीबाट आउने साथीहरूलाई डिल गर्ने कुरामा पनि म तयार छु । अरु घिसिपिटी हिसावले चल्नुभएको छ । मैले आन्तरिक एकतामा समेत विशेष योगदान गरेको छु । त्यो नाताले पनि काम गर्न सक्ने आत्मविश्वास छ ।

महासचिवमा धेरैजना दाबेदार हुनुहुन्छ नि, जितिन्छ चुनाव ?

मैले अध्यक्षज्यूलाई महासचिवमा दाबी गर्छु भनेर जानकारी गराइसकेको छु। यो पदमा धेरैको दाबी छ । प्रतिस्पर्धा धेरै छ, महासचिव पद एउटा मात्रै छ । त्यहाँ मिलेन भने उपाध्यक्ष वा उपमहासचिवमा राख्नुहोला । प्रतिस्पर्धा नै गर्नुपरे म महासचिवमा पनि जित्छु । केपी ओलीसँग नजिकका मान्छेको मात्रै साथ छैन, १० बुँदेबाट आएका सबै साथीको सहानुभूति छ । पार्टी एकतामा मैले धेरै सहजीकरण गरेको बुझाई उहाँहरूको छ । विभाजनका बेला एमालेमै रहनुभएका तत्कालीन माओवादी केन्द्रका साथीहरूको साथ मलाई छ । पिएस गुरुङ एमालेभित्रको व्यावहारिक नेता छ भन्ने बुझाइ छ । म संगठन विभागमा हुँदा धेरै व्यवस्थापन गरेको छु । म अहिले नहुँदा व्यवस्थापन भएको छैन । चुनावै भए पनि जित्छु भन्ने विश्वास छ ।

तपाईं सहमतिमा हुँदा अरु पदमा जान सक्ने भन्नुभयो, महासचिवमा तपाईंले सघाउने र उपयुक्त उम्मेदवार चाहिँ को हो ?

विष्णु पौडेल नेकपाकै महासचिव हुनुभएको हो, स्वतः दावा रहला । अर्को महासचिव (ईश्वर पोखरेल) दुई कार्यकाल सक्नुभएको छ । उहाँ वरिष्ठ उपाध्यक्षमा जाने होला कि उहाँ पनि महासचिवमा रहनुहोला । शंकरजीले पनि महासचिव हुन्छु भन्नुभएको छ, तर उहाँ अघिल्लो पटक उपमहासचिवमा हार्नुभएको हो । सुरेन्द्र पाण्डे पनि महासचिवमा उठेको भन्नुभएको छ । तर त्यो सही तर्क होइन । एउटा गुटको नेतृत्वमा चुनाव लड्नुभएको हो । म पनि छु । यिनैमध्ये अध्यक्षले कसैलाई बस भन्नुहोला । किनकि यो एकताको महाधिवेशन हो । फेरि एमालेमा चुनावबाट एकता हुँदैन भन्ने छ । म त्यो मान्दिनँ, एकता चुनावबाट पनि हुन्छ । सहमति भयो भने त चुनाव नभए पनि भइहाल्यो ।

साविकमा केपी ओलीसँग बसेका एमाले, एमाले इतर पक्ष आन्तरिक एकता हुन आएका, बादलजीसँग आएका अर्को धार र अन्य विभिन्न पार्टीबाट आएको अर्को धार गरेर चारवटा धार मिलाएर लैजानुपर्ने छ । भेगीय, समुदाय र क्षेत्रीय हिसाबले समावेशी भयो भने एकताको महाधिवेशन हुन्छ । एकता महाधिवेशनको अर्थ रहन्छ । त्यसलाई समेटिएन भने एकताको महाधिवेशन हुँदैन भन्ने बुझ्नु भए हुन्छ ।

ओलीसँग अध्यक्षको प्रतिस्पर्धा गर्ने अरु कोही नेता एमालेमा छैन ? 

हुन सक्छ । म किन नहुने भनेर घनश्यामजीले पनि भन्नुभएको छ । उठ्नै हुँदैन भन्ने पनि छैन । चित्त बुझेन भने उठ्न सक्नुहुन्छ । चुनाव हुने एउटा कुरा हो, चुनाव भए वा नभए पनि अध्यक्ष केपी ओली नै हो । परिस्थिति त्यस्तो बन्यो ।

केपी ओलीकै कारण तपाईं मुख्यमन्त्रीबाट च्यूत हुनुपर्‍यो । उनैको पक्षमा यतिसम्म खुलेर किन लाग्नुभएको ?

त्यो त एउटा आग्रहको कुरा मात्रै हो । त्यो काम केपी ओलीको मात्रै होइन । माधव नेपालको पनि दोष छ । त्यत्रो बहुमतले गरेको निर्णय नमानीकन अपमान गर्‍यो भनेर निर्णयविपरीत अर्को पार्टीको नेतालाई भोट हालेर आफ्नो नेतालाई सत्ताच्यूत गर्नु गलत हो नि ।

पार्टी अध्यक्ष र प्रधानमन्त्री भएकाले ओलीले केही गल्ती गरेनन् भन्दिनँ । ब्रम्हा, विष्णु, महेश्वर जस्तो भन्न खोजेको होइन । मान्छे आफैमा पूर्ण हुँदैन । मेरो पनि गल्ती होला । जुन ढंगले कुरा आइरहेको छ, आफ्नो लालचाका लागि गरिएका हुन् । एक्लो घेराबन्दी गरेर, एमालेलाई घेराबन्दी गरेर शेरबहादुरलाई साथ दिएको छ, सबै सामना केपी ओलीले गरे । सारमा भन्दा पार्टीलाई एकताबद्ध बनाइराख्न उहाँकै भूमिका छ । सबै खालका प्रहारको डिफेन्स ओलीकै नेतृत्वमा भयो । पार्टीभित्रैबाट केपी ओलीको विकल्प देखिँदैन, एकता प्रक्रियामा आएकाहरूमा पनि त्यो देखिँदैन । केपी ओली नहुँदा को हुने भन्ने प्रश्न आउन सक्छ । ओली रहँदासम्म अरु विकल्प छैन ।

मिलाउने प्रक्रिया हुँदा माओवादी केन्द्र र १० बुँदेपछि एकतामै रहेकालाई कसरी मिलाउनु हुन्छ ?

एकताको महाधिवेशन भनेकै यही हो । एकताको अर्थ त्यतिबेला पूरा हुन्छ, जतिबेला हामीले तीनवटै धार एड्जष्ट हुन्छन् । पद विभाजन, माइक्रोम्यानेजमेन्टमा सबैको प्रत्याभूति हुन्छ ।

एमालेबाट अध्यक्ष नै हुनुहुन्छ, माओवादीको नेतृत्व कसले गर्ने र एमालेमा रहेका माधव पक्ष भनिएकाहरूको नेतृत्व कसले गर्छ ?

अब त्यसमा समूहगत भागबन्डा हुँदैन । पृष्ठभूमिमा जे भए पनि अब उनीहरू एमाले हो । ओली अध्यक्ष भएपछि उपाध्यक्ष अर्कोलाई, महासचिव अर्कोलाई भन्ने हुँदैन । त्यो गर्दा भावनात्मक एकता हुँदैन । फेरि वरिष्ठ उपाध्यक्ष हुन हुँदैन भन्ने पनि होइन । सबैलाई मिलाएर लैजाने हो, सबैको प्रतिनिधित्व हुन्छ । तर गुटगत उपस्थिति रहँदैन ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button