
पाेखरा न्यूज । मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको प्रभाव रहेको जानकारी दिँदै आगामी तीन दिनसम्मको मौसमको बुलेटिन सार्वजनिक गरेको छ ।
सोमबार बिहान जारी बुलेटिन मार्फत महाशाखाले हाल गण्डकी प्रदेशसँगै सुदुरपश्चिम, कर्णाली र लुम्बिनीमा सामान्य देखि पूर्णतया बदली रही बाँकी प्रदेशहरुमा आँशिक देखि सामान्य बदली रहेको तथा यी प्रदेशका केही स्थानमा हल्का देखी मध्यम वर्षा र हिमपात भइरहेको जानकारी दिएको छ ।
सोमबार दिउँसो समेत यी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम, बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सोमबार राति गण्डकी प्रदेश, प्रदेश नं १, मधेस प्रदेश, बाग्मती प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार मंगलबार र बुधबार समेत केही स्थानमा हल्का वर्षा हुने र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
वर्षा र हिमपातले देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ ।





