अस्पतालद्वारा अभिनेता मोर्गनको तस्बिर दुरुपयोग

काठमाडौं  । भारतको केरलास्थित एक निजी अस्पतालले हलिउडका प्रख्यात अश्वेत अभिनेता मोर्गन फ्रिमेनको तस्बिर दुरुपयोग गरेको छ । अस्पतालले आफ्नो छालाको उपचारसम्बन्धी विज्ञापनमा अभिनेताको तस्बिर  राखेर दुरुपयोग गरेको हो । मोर्गन ओस्कार अवार्ड विजेता अभिनेता हुनुहुन्छ ।

मोर्गनको तस्बिरसहितको विज्ञापन सामाजिक सञ्जालमा अस्पतालले राखेपछि त्यसको चौतर्फी विरोध भएको छ । विरोधपछि अस्पतालले तस्बिर प्रयोग गरेकोमा माफी मागेको छ ।

ट्वीटर प्रयोगकर्ता रेजिमोन कुट्टप्पनले अस्पतालको विज्ञापनको तस्बिर आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलमा सेयर गर्नुभएकाे छ । तस्बिर सेयरसँगै उहाँले मोर्गनलाई ट्याग पनि गर्नुभएकाे छ । ‘सर मोगर्न फ्रिमेन तपाईंको तस्बिर भारतको केरालामा एक अस्पतालका डर्मेटोलोजी डिपार्टमेन्टले आफ्नो विज्ञापनका लागि प्रयोग गरेका छन् । यो तस्बिरसँगै उसले उपचारमार्फत छालाका सम्पूर्ण समस्या समाधान गर्ने भनेको छ’, उहाँले लेख्नुभएकाे छ

रेजिमोनले यो सूचना ट्वीटरमा राखेपछि चौतर्फी आलोचना भएको थियो । त्यसपछि वडकरा कोपरेटिभ अस्पतालले आफ्नो विज्ञापनमा मोर्गनको तस्बिर प्रयोग गरेकोमा माफी मागेको छ । ‘एक डर्मोटोलोजी हालै हाम्रो विभागमा जोडिएको हो । हाम्रो अस्पतालमा छालाको उपचार पनि गरिन्छ भन्नका लागि मोर्गनको तस्बिर राखेर विज्ञापन गरिएको थियो । त्यसका लागि छुट्टै विज्ञापन बोर्ड बनाइएको थियो’, अस्पतालका मार्केटिङ हेड टी सुनिलले भन्नुभएकाे छ ।

सुनिलले विज्ञापनलाई एक स्थानीय डिजाइनरले बनाएको र जानकारीको अभाव र गम्भीरतालाई नबुझेका कारण ओपिडीको अगाडि लापरबाही ढंगले विज्ञापन राखिएको दाबी गर्नुभयाे । तर, एक व्यक्तिले विज्ञापनमा नेल्सन मण्डेलाको तस्बिर किन राखेको भनेपछि अस्पताल प्रशासनले शनिबारबाट माफी माग्दै विज्ञापन हटाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button