गोरखा जिल्ला टुक्र्याउने निर्णय

पोखरा न्यूज । केही महिनाअघि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखालाई दुई जिल्ला बनाउनुपर्ने अभिव्यक्ति दिएपछि हलचल मच्चियो । उनले धार्चे र चुमनुब्री गाउँपालिकाको छुट्टै जिल्ला बनाउनुपर्ने बताएका थिए । त्यहाँको भूगोल र स्थानीय रहनसहन अरु भूभागभन्दा छुट्टै भएको भन्दै जिल्ला नै अर्को बनाउनुपर्ने भट्टराईको भनाइ थियो ।

अहिले त्यहाँका स्थानीय राजनीतिक दलहरूले पनि जिल्ला टुक्र्याउने निर्णय गरेका छन् । सर्वदलीय बैठक बसेर सबैजसो राजनीतिक दल, जनप्रतिनिधि र सामाजिक अगुवाहरूको भेलाले धार्चे र चुमनुब्रीलाई छुट्टै स्वायत्त जिल्लाको रूपमा घोषणा गर्नुपर्ने माग राखेका हुन् । यसका लागि दुई पालिकाको छुट्टाछुट्टै समन्वय समिति गठन भएको छ । धार्चेका विश्व गुरुङको संयोजकत्वमा चार सदस्यीय र चुमनुब्रीका गणेश कार्कीको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको हो ।

दुई पालिकाको जिल्ला कत्रो बन्छ ?

गोरखाको तीन हजार ६ सय १० वर्गकिलोमिटर क्षेत्रफलमध्ये दुई हजार तीन सय वर्गकिलोमिटर दुई गाउँपालिकाले मात्रै ओगटेका छन् । तर जनसंख्या भने निकै कम छ । दुई पालिकाको जनसंख्या जम्मा २० हजार एक सय ५२ छ । जिल्लाकाे जनसंख्या भने दुई लाख ७२ हजार एक सय ६९ छ ।

सबै हिसावले छिमेकी जिल्ला मनाङभन्दा ठूलो हुनेछ । मनाङको क्षेत्रफल दुई हजार दुई सय ४६ वर्गकिलोमिटर र जनसंख्या ६ हजार पाँच सय ३८ मात्रै छ ।

धार्चे र चुमनुब्रीले ५० प्रतिशतभन्दा धेरै भूगोल ओगटेको भए पनि त्यहाँको आर्थिक, सामाजिक, शैक्षिक विकास राम्रोसँग हुन नसकेको ठहर स्थानीयको छ । ‘यो क्षेत्र धेरै पिछडियो । सकेसम्म छुट्टै जिल्ला भए राम्रो नभए पनि विशेष संरक्षित क्षेत्रको रूपमा यसको विकास गर्नुपर्छ,’ चुमनुब्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले भने, ‘संविधानमा स्वायत्त क्षेत्रको पनि परिकल्पना छ । हामी छुट्टिएर बस्नेभन्दा विकास खोजेका हौं ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button