गोपाल योञ्जनका चेला राजेश हमाल !

काठमाडौं । कलाकार राजेश हमाल एक कुशल अभिनेता हुनुहुन्छ भन्ने सबैलाई जगजाहेर नै छ । हमालले अभिनय गरेका अधिकांश फिल्ममा उहाँलाई ग्रामीण परिवेशको पात्रको रुपमा दर्शकले हेर्दै आएका छन् । यिनै अभिनेता हमालको पहिलो सोलो गायनको गीत ‘गाउँले ठिटो’ दर्शकमाझ आएको छ ।

भिडियो सार्वजनिक गर्न गत शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा अभिनेता हमाल केही नोस्टाल्जिक बन्नुभयाे । उहाँ आफ्नो गायन यात्रालाई स्कुल परिवेशसँग जोड्नुभयाे ।

उहाँले आफू वरिष्ठ संगीतकार तथा गायक गोपाल योञ्जनको चेला भएको स्मरण गर्नुभयाे । ‘विद्यालयमा मेरो संगीतको शिक्षक नै वरिष्ठ संगीतकार गोपाल योन्जन हुनुहुन्थ्यो । कक्षा ६ पढ्ने बेलासम्म उहाँले अगाडी बोलाएर गाउन लगाउनु हुन्थ्यो । तर, कक्षा १० पुग्ने बेलासम्ममा स्वर नराम्रो जस्तो लाग्यो । त्यसपछि कहिल्यै गाउने कोशिस नै गरिनँ । अहिले आएर फेरि गीत गाउने प्रयास गरेको हुँ,’ उहाँले भन्नुभयाे ।

गीतकार गोविन्द भट्टको शब्द र संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको यस गीतमा अभिनेता हमाल गाउँले भेषभूषामा देखिनु भएकाे छ । हमालका अनुसार यो गीतका लागि उहाँले करिब तीन महिनासम्म तयारी गर्नुपरेको थियो ।

‘नेपाल र नेपालीको कथा झल्किने गीतमा गाउने र अभिनय गर्ने चाहना थियो । मैले जीवनमा हलो जोतेको अनुभव लिएको छैन । मैले जति पनि फिल्ममा अभिनय गरेको छु, ती सबैमा म कलाकार बनेर आम नेपालीहरुले अपनाउने जीवन शैलीलाई नै उतारेको छ ।’ उहाँले भन्नुभयाे ।

देवेन्द्र पाण्डे निर्देशित भिडियोमा रोजगारीको लागि विदेशिएको युवा आफ्नै गाउँ फर्केर कृषि कर्म गरी सफल बनेको कथालाई देखाइएको छ ।

भिडियोमा हमालको साथमा उत्तम केसी, गोबिन्द भट्ट, एसके दाहाल लगायतको अभिनय रहेको छ ।

उत्सव दाहालको छायांकन रहेको भिडियोका सम्पादक विकास दाहाल हुनुहुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button