भरतपुर महानगर मेयर र उपमेयरमा क-कसले दिए उमेदवारी ?

चितवन । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका कार्यक्रमअन्तर्गत ११ र १२ वैशाखमा मनोनयन दर्ताको काम सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाको मेयरका लागि ३० र उपमेयरका लागि १३ जनाले मनोनयन दर्ता गराएका छन् ।

भरतपुरको मेयरमा विभिन्‍न दलका १६ जना र स्वतन्त्रतर्फका १४ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका प्रमुख निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयाे । उपमेयरमा विभिन्‍न दलका नौ जना र स्वतन्त्रतर्फका चार जनाले उमेदवारी दिनुभएकाे छ।

मेयरमा क-कसले दिए उमेदवारी ?

एमालेबाट विजय सुवेदी, माओवादी केन्द्रबाट रेणु दाहाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट गणेश गिरी, विवेकशील साझा पार्टीबाट प्रविन काफ्ले, राष्ट्रिय जनमोर्चाबाट भक्तिराम गौतम शर्मा, नेपाल मजदूर किसान पार्टीबाट हरिप्रसाद दुवाल र माक्सवादी लेनिनवादीबाट सूर्यप्रसाद रेग्मीले मेयरमा उमेदवारी दर्ता गराउनुभयाे ।

राष्ट्रिय जनमुक्ति पार्टीबाट ज्ञानबहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनबाट टेकबहादुर पुनमगर, राष्ट्रिय नागरिक पार्टीबाट पूर्णबहादुर गुरुङ, जनमत पार्टी (जपा)बाट संजयकुमार ठाकुर, मौलिक जरोकिलो पार्टीबाट विनोदकुमार गिरी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट लक्ष्मण अधिकारी, उन्‍नत लोकतन्त्र पार्टीबाट दिपेन्द्र बास्तोला, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबाट सुरेन्द्र परियार र सामाजिक एकता पार्टीबाट खेम प्रसाईंले उमेदवारी दिनुभयाे ।

स्वतन्त्रतर्फबाट रुद्र प्रसाई, उद्वव अर्याल, रामकृष्ण ओझा, सुमन अधिकारी, योगलाल श्रेष्ठ, जगन्‍नाथ पौडेल, कुलराज कँडेल, दुर्गाप्रसाद शर्मा, शरिशरण श्रेष्ठ, रमेश भण्डारी, मिलन अधिकारी, मोहित पाण्डे, यामकान्त शर्मा कँडेल र हरिश्चन्द्र घिमिरेले मेयरमा उमेदवारी दिनुभएकाे छ ।

उपमेयरमा क-कसले दिए उमेदवारी ?

कांग्रेसबाट चित्रसेन अधिकारी, विवेकशील साझा पार्टीबाट पुष्पा सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हिमला गुरुङ, राष्ट्रिय जनमोर्चाबाट देवी शर्मा, नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी)बाट इन्दिरा शर्मा गौली, राष्ट्रिय जनमुक्ति पार्टीबाट मीना मगर, मंगोल नेशनल अर्गनाइजेशनबाट सुस्मा तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कल्पना थापा र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबाट कौशिला खत्रीले उपमेयरमा उमेदवारी दिनुभयाे ।

स्वतन्त्रबाट रविचन्द्र अधिकारी, पवित्रा जोशी, चन्द्रबहादुर तामाङ र भोजराज कौडालले उपमेयरमा उमेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृत अधिकारीले जानकारी दिनुभयाे । निर्वाचन कार्यतालिका अनुसार आज मनोनयन दर्ता गरेका उमेदवारको विरोधमा उजुरी दिन सकिन्छ ।

आचारसंहिताको व्यापक उल्लघंन

सोमबार मनोनयन दर्ताका क्रममा दलले निर्वाचन आचारसंहिता व्यापक रुपमा उल्लघंन गरे । सत्ता गठबन्धनका उमेदवारले मनोनयन दर्ता गर्ने क्रममा बागमती प्रदेशका बहालवाला मन्त्री घनश्याम दाहाल पनि निर्वाचन अधिकृतको कार्यालयमा पुग्नुभयाे ।

उहाँले आफू चढ्ने सरकारी गाडी जिल्ला समन्वय समितिको परिसरमा राखेर निर्वाचन अधिकृतको कार्यालयमा पुग्नुभएकाे हाे ।

उहाँ माओवादी केन्द्रका नेतासमेत हुनुहुन्छ । सरकारी सेवासुविधा लिइरहेका सरकारका मन्त्री र सरकारी कर्मचारीले सरकारी सवारीसाधन लिएर कुनै दलको उमेदवारको प्रचारप्रसारमा हिँड्न पाइँदैन । त्यस्तो कार्य निर्वाचन आचारसंहिताविपरीत मानिन्छ ।

गठबन्धनकै दल कांग्रेसका नेता कार्यकताले पनि आचारसंहिता उल्लघंन गरे । उनीहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयभित्रै पार्टीको झण्डा लिएर पुगे । कार्यालयभित्र झण्डा भेटेपछि जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले झण्डा हटाउन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएकाे हाे ।

एमालेका कार्यकर्ताले पनि निर्वाचन आचारसंहिताविपरीत कार्य गरे । उनीहरुले पार्टीको चुनाव चिह्न अंकित टोपी र व्याच लगाएर निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गरे ।

निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाएका ठूला भनिएका दलले नै आचारसंहिता उल्लघंन गर्न सुरु गरेका छन् । त्यसलाई नियमन गर्ने निकाय निर्वाचन आयोग पनि सक्रिय भएको पाइँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button