गण्डकीमा टिकट एउटालाई, मनोनयन अर्कैको

पोखरा । आउँदो ५ वर्षका लागि सोमबार स्थानीय निर्वाचनको उम्मेदवारी मनोनयन हुँदै थियो । राजनीतिक पार्टीहरूले ढिलो गरी उम्मेद्वार टुंग्याए । विशेषगरी गठबन्धन दलहरूमा उम्मेद्वार टुंग्याउन समय लाग्यो । मनोनयनको केही घण्टाअघि मात्रै टिकट वितरण गरेको कांग्रेसमा उम्मेद्वार चयन प्रक्रिया राम्रो नहुँदा तल्लो तहमा समस्या आयो ।

एमालेका उम्मेद्वारसमेत मनोनयनको केही समयअघि मात्रै टुंगिएका हुन् । शनिबार पोखरा महानरपालिकाको मेयरमा एमालेले दीपक पौडेललाई टिकट दिइयो । आफ्नै पार्टीका कार्यकर्ताहरूले पूरानो भिडिओहरू निकालेर बद्नाम गरे । सोमबार उहाँकाे टिकट खोसेर प्रदेश सांसद कृष्ण थापालाई दिइयो । उम्मेद्वारी दर्ताको तयारी गरिरहनुभएका पौडेल थापाको र्‍यालीमा हिँड्नुभयाे ।

कांग्रेसले पोखराको उपमेयरमा सोमबार बिहान सुरेन्द्रमान विजुक्छेलाई टिकट दियो । मनोनयनका लागि गठबन्धनका उम्मेद्वारहरू र्‍यालीमा निस्किए । विजुक्छे घरबाट निस्किनै लाग्दा टिकट खोसियो र कोपिला रानाभाटलाई दिइयो । गठबन्धनबाट मेयरको टिकट पाउनुभएका धनराज आचार्य कांग्रेस र माओवादीका नेतासहित मनोनयन स्थलमा पुगिसक्दा कोपिला भने घरमा कपडा फेर्दै हुनुहुन्थ्याे । उहाँ धनराजले दर्ता प्रक्रिया सुरु गरिसकेपछि हस्याङ फस्याङ गर्दै मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुग्नुभयाे ।

कास्कीको रुपा गाउँपालिकामा कांग्रेस कास्कीले अध्यक्षमा आनन्द सुवेदीलाई टिकट दियो । उपाध्यक्षमा अप्सरा श्रेष्ठ उठ्ने हुनुभयाे । टिकट लिएर उहाँहरू मनोनयनका लागि पालिका जानुभयाे । तर, कांग्रेस कार्यकर्ताले बाटो छेकेर भित्र पस्नै दिएनन् । उनीहरूको चाहना आनन्दले टिकट नपाउन् भन्ने थियो । कांग्रेस रुपाका नेता कार्यकर्ताहरूले आनन्दलाई अघिल्लो चुनावमा कांग्रेस हराएको आरोप लगाएका छन् । त्यसो त उहाँ लगायत आठजनाले कांग्रेस उम्मेद्वारको विरुद्ध अभियान नै चलाउनुभयाे । मिडियाबाजी गर्नुभयाे, बक्तब्य निकाल्नुभयाे । पछि पार्टीमा कारबाहीको लागि सिफारिस भयो, तर कारबाही भएन ।

अघिल्लो पटकको उम्मेदवार प्रकाश मोहन खनाल विरुद्धको गतिविधिको नेतृत्व सुवेदीले गर्नुभएकाे थियाे । अहिले कांग्रेसले सुवेदीलाई उल्टै टिकट थमाएर पठायो, त्यसको प्रतिक्रिया राम्रो आएन । मनोनयन स्थलमा घण्टौं कुरेपछि पनि भित्र छिर्न नपाएपछि कांग्रेस कास्कीले केन्द्रमा उम्मेद्वार फेरिदिन सिफारिस पठायो । केन्द्रीय समितिले सुवेदी र श्रेष्ठको ठाउँमा नयाँ उम्मेद्वारलाई टिकट दियो । अघिल्लो चुनावमा उपाध्यक्ष पराजित गीमाया गुरुङलाई अध्यक्षको टिकट दियो भने नारायण श्रेष्ठलाई उपाध्यक्षमा पठायो । उहाँहरुले ढिलो गरी मनोनयन दर्ता गर्नुभयाे ।

गोरखाको गोरखा नगरपालिकामा मेयरको टिकट विश्वदेव श्रेष्ठले पाउजुभयाे । कांग्रेस गण्डकी प्रदेशले श्रेष्ठलाई टिकट दिएपछि उहाँ टिकट लिएर जिल्ला जानुभयाे । मनोनयनका लागि फोटो खिच्न स्टुडियो छिर्नुभएका श्रेष्ठलाई कार्यकर्ताले भित्रै कुटपिट गरे । उहाँको टिकटको विरुद्धमा जिल्ला पार्टी कार्यालयमा तालाबन्दी भयो । घटना नियन्त्रणबाहिर जाने सम्भावना बढेपछि कांग्रेस केन्द्रले टिकट फेरिदियो । उहाँबाट खोसेर हालकै मेयर राजनराज पन्तलाई टिकट दिइयो । त्यसो त, श्रेष्ठ मतदातामाझ खासै चिनिएका अनुहार हुनुहुन्न । पन्त अघिल्लो चुनावमा भारी मतान्तरले जितेका व्यक्ति हुनुहुन्छ ।

मनाङको नार्पाभूमिमा भने फरक घटना भयो । राजनीतिक पार्टीहरूले एउटामा टिकट दिए, उम्मेद्वारहरू अर्कै पदमा उठे । एमालेले पालिका अध्यक्षमा ज्याप्ले गुरुङलाई टिकट दिएकोमा उहाँले पार्टीको टिकट लुकाएर स्वतन्त्र रुपमै उपाध्यक्षमा उम्मेद्वारी हाल्नुभयाे । ज्याप्ले नार्पाभूमिको निर्विरोध उपाध्यक्षमा चुनिनुभएकाे छ । कांग्रेसले कृष्णबहादुर लामालाई उपाध्यक्षको टिकट थमायो । उहाँ पालिका पुगेर अध्यक्षमा उम्मेद्वारी हाल्नुभयाे । कांग्रेसबाट अध्यक्षमा हालका उपाध्यक्ष कोन्जो तेन्जिङ लामाले टिकट पाउनुभएकाे छ । कृष्णले स्वतन्त्र उम्मेद्वारी दिएपछि त्यहाँ कांग्रेस–कांग्रेसबीच मै प्रतिस्पर्धा हुने भएको छ ।

यद्यपी, एमाले समर्थित अर्का उम्मेद्वार पनि हुनुहुन्छ । उहाँ पनि स्वतन्त्र उम्मेद्वार बन्नुभएकाे हाे । नार र फू गाउँमध्ये बढी जनसंख्या र मतदाता नारमा छ । कृष्णबहादुर नारका र कोन्जो फूका हुनुहुन्छ । यहाँ दलीयभन्दा पनि भेगीय राजनीति बढी छ । अरु धेरै पालिकाहरुमा पनि सबैजसो पार्टीबाट उम्मेद्वारी विवादित बनेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button