
बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले चुनावका लागि टोलटोलमा परिचालित हुन कार्यकर्तालाई निर्देशन दिनुभएकाे छ ।
एमाले नेतृत्वको सरकारले केन्द्रदेखि स्थानीय तहसम्म सुरु गरेका विकासका योजनाबारे जनतालाई बुझाउन र शासक नबनी सेवकको रूपमा प्रस्तुत हुन पार्टी पंक्तिलाई निर्देशन दिनुभएकाे हाे ।
मंगलबार बुटवलमा उम्मेदवारको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निर्वाचन तयारीका लागि गर्नुपर्ने सबै काम तत्काल गर्न पनि निर्देशन दिनुभयाे । ‘अब समय धेरै छैन, आन्तरिक तयारीका कामलाई छिटो टुंग्याउनुस् र जनताको घरदैलोमा जानुस्, विकासका योजना सुनाउनुस् र स्थानीय सरकारमा एमाले नेतृत्वमा रहँदा गरेका राम्रा कामहरूबारे बुझाउनुस्,’ पौडेलले भन्नुभयाे ।
रुपन्देहीमा रहेका १६ वटा पालिका मध्ये कम्तीमा १३ वटा पालिकामा एमालेको जित निश्चित रहेको उहाँले दाबी गर्नुभयाे । ‘बुटवल उपमहानगरपालिकामा जित सुनिश्चित जस्तै छ, अन्य स्थानीय तहहरूमा पनि भारी मतान्तरले एमालेको जित हुने छ,’ उहाँले भन्नुभयाे ।
सत्ता गठबन्धन रुपन्देहीमा भताभुंग भएको भन्दै पौडेलले गठबन्धनको नाममा एमालेलाई तर्साउन खोजेको सपना पूरा नहुने पनि बताउनुभयाे । ‘रुपन्देहीका धेरै पालिकामा गठबन्धन टुटेको छ, गठबन्धनमा आबद्ध दलका धेरै कार्यकर्ता अव एमालेमा आउँछौँ भनिरहेका छन्,’ उहाँले भन्नुभयाे ।
बुटवल उपमहानगरपालिकामा एमालेले मेयरमा बाबुराम भट्टराई र उपमेयरमा सावित्रा अर्याललाई उम्मेदवार बनाएको छ । त्यस्तै चार जना वडा सदस्य दिएर राष्ट्रिय जनमुक्ति पार्टीसँग एमालेले तालमेल समेत गरेको छ ।
अभिमुखीकरण कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य लीला गिरीले उम्मेदवारी मनोनयनका क्रममा देखिएको उत्साहले गठबन्धनभित्र समेत हलचल पैदा भएको बताउनु भयाे ।





