
पोखरा । गण्डकी प्रदेशमा दर्जनभन्दा बढी स्थानीय तहमा पुरानै उम्मेदवार दोहोरिएका छन् । तल्ला पदमा भन्दा माथिल्ला पदमा रहेकाहरू धेरै दोहोरिएका छन् ।
एमालेबाट २८ जना दोहोरिएका छन् भने दुई जना उपप्रमुखबाट प्रमुखमा स्तरोन्नति भएका छन् । यसबाहेक अघिल्लो पटक उम्मेदवार बनेर पराजित भएकाहरू पनि अहिले पुनः उम्मेदवार बनेका छन् ।
एमालेले मुस्ताङको बारागुङ मुक्ति क्षेत्रको उपाध्यक्षमा ढिकी गुरुङलाई दोहोर्याएको छ भने लो घेकर दामोदर कुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट पनि दोहोरिनु भएकाे छ । मनाङको चामेमा लोकेन्द्र घले र मनाङ ङिस्याङको अध्यक्षमा कान्छा घले दोहोरिनु भएकाे हाे ।
लमजुङबाट मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, बेँसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, राइनासको मेयर सिंहबहादुर थापा दोहोरिनु भयाे । स्याङ्जाको फेदीखोलामा घनश्याम सुवेदी अध्यक्षमा दोहोरिनु भएकाे छ भने पुतलीबजारको मेयरमा सीमा क्षेत्री र उपमेयरमा महेश पुरी, कालीगण्डकी गाउँपालिका अध्यक्षमा खिमबहादुर थापा र उपाध्यक्ष सावित्रा कोइराला, गल्याङको उपमेयरमा देविसरा थापा र हरिनासको अध्यक्षमा खिमनारायण मानन्धरलाई पुनः टिकट दिएको छ । अर्जुनचौपारीकी बहालवाला उपाध्यक्ष चिनमाया गुरुङलाई अध्यक्षमा उठाइएको छ ।
तनहुँको भीमाद नगरपालिका उपप्रमुख शारदा खनाल र देवघाटका अध्यक्ष दुर्गाबहादुर थापा दोहोरिनु भयाे । कास्कीको रुपामा अध्यक्ष र उपाध्यक्ष दुवै एउटै पदमा उठ्नुभएकाे छ । नवराज ओझा र लालसुब्बा गुरुङलाई दोहोर्याएको एमालेले जनाएको छ ।
यस्तै, पोखरा महानगरको उपमेयरमा मन्जुदेवी गुरुङनै उठ्नुभयाे । म्याग्दीको धवलागिरी गाउँपालिकाको अध्यक्षमा दोस्राे कार्यकालका लागि थमसरा पुन र मंगला गाउँपालिका अध्यक्षमा सतप्रसाद रोका उठ्नुभएकाे हाे ।
नवलपुरको गैंडाकोट नगरपालिकामा छत्रराज पोडेल र देवचुली नगरपालिका उपप्रमुखमा पार्वता तिवारी दोहोरिनु भयाे । पर्वतको फलेबासमा दुवै जना पुरानै अनुहार आएका छन् । पदमपाणि शर्मा मेयर र मन्जु अधिकारी उपमेयरको टिकट पाउनु भयाे । बागलुङमा ढोरपाटनका मेयर देवकुमार नेपाली र उपमेयर करमती पुन तथा बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल दोहोरिनु भएकाे छ ।
कांग्रेसले २६ जनालाई दोहोर्याएको छ भने एक जनालाई उपाध्यक्षबाट अध्यक्षमा बढोत्तरी गरिएको छ । मुस्ताङको थासाङ गाउँपालिकाको बहालवाला उपाध्यक्ष बालकुमारी शेरचनलाई अध्यक्षको टिकट दिएको छ । लमजुङको मध्यनेपाल नगरपालिका प्रमुखमा रमेश पाण्डे दोहोरिनु भएकाे छ । गोरखा नगरपालिका प्रमुखमा राजनराज पन्त, पालुङटारको मेयरमा दीपकबाबू कँडेल, आरुघाटको उपाध्यक्ष कल्पना नेपाली, गण्डकीको अध्यक्ष होमबहादुर राना र उपाध्यक्ष ललिता अधिकारी, सिरान्चोकको उपाध्यक्ष रिता देवकोटा र चुमनुब्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङ दोहोरिनु भयाे ।
स्याङ्जाको वालिङ नगरपालिका मेयर दिलिपप्रताप खाण, कास्की अन्नपूर्ण गाउँपालिका अध्यक्ष यूवराज कुँवर, म्याग्दी रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र मालिकाका अध्यक्ष श्रीप्रसाद रोका पनि दोहोर्याएर मनोनयन दर्ता गर्नुभएकाे छ ।
तनहुँको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्ष गिनुमाया थापा, आँबुखैरेनीका अध्यक्ष गिरबहादुर थापा, म्याग्देका अध्यक्ष माया राना र उपाध्यक्ष बालकृष्ण घिमिरे, ब्यासका मेयर बैकुण्ठ न्यौपाने एउटै पदमा दोहोरिनु भएकाे छ ।
नवलपुरको बुलिङटारमा शशीकुमार बस्ताकोटी, विनयी त्रिवेणीका अध्यक्ष डम्बरबहादुर जिसी र हुप्सेकोटको अध्यक्ष लक्ष्मीदेवी पाण्डे दोहोरिनु भएकाे छ । पर्वतमा कुश्मा नगरका मेयर रामचन्द्र जोशी तथा बागलुङमा तमानखोलाका अध्यक्ष जोकलाल बुढा र गलकोटका मेयर भरत शर्मा गैह्रेलाई दोहोर्याएको छ ।
माओवादीले पनि अधिकांश जनप्रतिनिधि दोहोर्याएको छ । यसअघि पाँच वटा पालिकामा मात्रै प्रमुख जितेको माओवादीले चार पालिका दोहोर्याएको छ । गोरखाको सहिद लखनमा रमेशबाबू थापा र ईन्दिरा तिवारीनै उठाएको छ भने बारपाक सुलिकोटमा विष्णु भट्ट र सनमाया गुरुङलाई उठाएको छ । बन्दिपुरको अध्यक्षमा पूर्णसिंह थापा र उपाध्यक्षमा करुणा गुरुङ दोहोरिनु भएकाे छ ।
८५ मध्ये ४२ पालिकामा प्रमुख दोहोरिएका छन् भने १९ जना उपप्रमुख दोहोरिएका छन् ।





