चर्चामा भरतपुर महानगर: गृहमन्त्री खाँणले उम्मेदवारी फिर्ता लिन गरेको आग्रह पौडेलद्वारा अस्वीकार

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिनुभएका कांग्रेस नेता जगन्नाथ पौडेलले उमेदवारी फिर्ता नलिने हुनुभएकाे छ ।

गृहमन्त्री बालकृष्ण खाँणसँगको भेटमा पौडेलले उम्मेदवारी फिर्ता लिन खाँणले गरेको आग्रह अस्वीकार गर्नुभएकाे हाे ।

पौडेललाई भेट्न गृहमन्त्री खाँण भरतपुर-७ स्थित पौडेल निवास पुग्नुभएकाे हाे ।

गृहमन्त्रीसँगको भेटमा आफूले उम्मेदवारी फिर्ता लिन नसक्ने कुरा स्पष्ट रूपमा बताएको पौडेलले बताउनु भयाे ।

आफूले दिएको उमेदवारी चितवनवासीको लोकतन्त्र र आफ्नो पार्टीलाई बचाउनका लागि सञ्चालन गरेको अभियानसँग मात्रै सम्बन्धित रहेको भन्दै उहाँले केन्द्रीय गठबन्धनसँग सम्बन्धित नरहेको बताउनु भयाे ।

‘मेरो कारणले केन्द्रीय गठबन्धनलाई गाह्रो पर्नुपर्ने केही छैन’, उहाँले भन्नुभयाे, ‘परिस्थिति धेरै अगाडि बढिसकेको छ । मैले एउटा सामान्य नागरिकका हिसाबले उम्मेदवारी दिए । तपाईहरूले पनि सामान्य कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएछ भनेर बुझ्नुस् भने भनेँ ।’

पार्टीको अनुशासनविपरीत काम गरेको जस्तो लागे कारबाही गर्न पनि भनेको उहाँले बताउनु भयाे ।

विभिन्न जिम्मेवारी दिन गृहमन्त्रीले प्रस्ताव गरेको संकेत गर्दै उहाँले के प्रस्ताव गरे भन्ने कुरा भने खुलाउन चाहनु भएन । आफूलाई कुनै प्रस्तावले नछुने उहाँले बताउनु भयाे ।

पहिलो भेटमा पौडेलले उमेदवारी फिर्ता नलिने बताएपछि फेरि भेट्ने भनेर गृहमन्त्री निस्किनु भएकाे छ ।

पौडेललाई भेट्नुअघि गृहमन्त्री खाँणले कांग्रेसका पुराना नेता कृष्णलाल सापकोटा र महासमिति सदस्य मिना खरेललाई भेट्नुभएकाे थियाे ।

सापकोटा र खरेलले पनि उम्मेदवारी फिर्ता गराउन सहयोग गर्न गरेको खाँणको आग्रह अस्वीकार गर्नुभएकाे छ ।

गठबन्धनबाट भरतपुरको मेयरको उमेदवारमा माओवादी केन्द्रकी रेनु दाहाललाई उठाउने निश्चित भएपछि पौडेलले बागी उम्मेदवारी दिनुभएकाे हाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button