रामचन्द्रदेखि प्रचण्डसम्म भरतपुरका स्वतन्त्रबाट उम्मेदवार जगन्नाथ फकाउँदै

जगन्नाथकाे जवाफ- कुनै हालतमा पनि पछि हट्दिनँ

काठमाडौं । सत्ता गठबन्धनलाई चितवन भरतपुर महानगरका मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल टाउको दुखाइको विषय बनेकाे छ । कांग्रेस नेता समेत रहनु भएका पौडेलले  मेयर पदमा स्वतन्त्र  उम्मेदवारी दिएपछि यतिबेला उहाँलाई फकाउन सत्ता गठबन्धन पुरै हात धोएरै लागेकाे छ ।

सत्ता साझेदार मध्येका प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाल पनि भरतपुरमा मेयरकी उम्मेदवार हुनुहुन्छ। उहाँको उम्मेदवारीप्रति असन्तुष्ट बनेको नेपाली कांग्रेस चितवनको तर्फबाट पौडेललले स्वतन्त्र उम्मेदवारी दिनुभएकाे थियाे ।

बागी उम्मेदवारी फिर्ता लिएर रेणुलाई सहयोग गर्न उहाँलाई फकाउन पुरै सत्ता लागि परेको छ । तर, उहाँ भने आफ्नो उम्मेदवारीबाट एक इन्च पनि पछि नहट्ने अडानमा हुनुहुन्छ।

नेपाली कांग्रेसले उहाँलाई पार्टीबाट निस्कासन गरिसकेको छ । तर, पनि नेताहरू उहाँलाई उम्मेदवारी फिर्ता गराउन लागि परेका छन् । उम्मेदवारी फिर्ता लिएर रेणुलाई सहयोग गर्ने विषयमा कुरा गर्न खोज्दा उहाँले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट्न अस्वीकार गर्नुभएकाे छ ।

यही क्रममा उहाँलाई आज विहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भेट गर्नुभएकाे थियाे । करिब १० मिनेट भएको भेटमा रामचन्द्रले उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएकाे थियाे । यति मात्र नभएर सभापति देउवासँग भेट गर्न समेत अनुरोध गर्नुभएकाे थियाे । तर, उहाँले उम्मेदवारी फिर्ता लिन र देउवासँग भेट्न अस्वीकार गर्नुभयाे ।

भरतपुरस्थित होटल सिरागचुलीमा रामचन्द्र र जगन्नाथसहित उहाँ पक्षधर नेताबीच छोटो कुराकानी भएको हो । जगन्नाथसँगै उहाँको प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक रहनु भएकी मीना खरेल र पूर्व सांसद् भीमबहादुर श्रेष्ठ लगायतका नेतासँग राचमन्द्रले भेट गर्नुभएकाे थियाे ।

भेटको क्रममा आफूहरूले पुरानै अडान राखेको जगन्नाथले बताउनु भयाे । ‘हामीले पुरानै अडान राख्यौं । यदि मैले पछि हट्नुपर्छ भने रेणु दाहालको पनि उम्मेदवारी फिर्ता हुनुपर्छ,’ रामचन्द्रसँगको भेटबारे जगन्नाथले भन्नुभयाे, ‘त्यसपछि यहाँ कांग्रेस आफैंले मेयरमा लड्नुपर्छ । यदि त्यसो हुन्छ भने मात्र म पछि हट्छु नत्र हट्दिन ।’

रामचन्द्रले देशभर गठबन्धन बनेकाले यहाँबाट उम्मेदवारी फिर्ता लिएर सहयोग गरिदिनुपर्‍यो भन्नुभएकाे थियाे । तर, आफू निकै अघि बढिसकेको भन्दै कुनै पनि हालतमा पछि हट्न नसक्ने जानकारी गराएर आफू चुनावी अभियानका लागि निस्किएको उहाँको भनाइ छ ।

भेट अघि रामचन्द्रले पटक पटक फोन गरेर भेट्न आग्रह गर्नुभएकाे थियाे । आफूहरू घरदैलो अभियानमा व्यस्त रहेको भन्दै उहाँहरूले भेट गर्न अस्वीकार गर्नुभएकाे थियाे । तर, पटक पटक फाेन गरेपछि उहाँ छोटो समयका लागि भेट गर्न तयार हुनुभएकाे हाे । भरतपुर महानगरमा सत्ता गठबन्धनबाट रेणु दाहाल मेयर र कांग्रेसको तर्फबाट चित्रसेन अधिकारी उप-मेयरका उम्मेदवार बन्नुभएकाे छ।

चुनावी तालमेलको विपक्षमा रहेको कांग्रेसको असन्तुष्ट पक्षले जगन्नाथलाई मेयरको उम्मेदवार बनाएको थियो । उहाँलाई फकाउने रामचन्द्र पहिलो नेता भने हुनुहुन्न । यसअघि गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ लगायतले जगन्नाथलाई भेटेर उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएकाे थियाे ।

प्रधानमन्त्री तथा पार्टी सभापति देउवाको विशेष दूत बनेर काठमाडौंबाट चितवन पुग्नुभएका गृहमन्त्री खाणले जगन्नाथलाई घरमै पुगेर फकाउनु भयाे । पाैडेललाई फकाउन उहाँ १४ वैशाखमा चितवनस्थित उहाँकै घरमा पुग्नुभएकाे थियाे । बागी फकाउन चितवन पुग्नुभएका गृहमन्त्री खाँण रित्तो हात काठमाडौं फर्किनु भयाे ।

उहाँसँगको भेटमा जगन्नाथले आफू निकै अघि बढिसकेको र पछि फर्किने अवस्था नरहेको प्रष्ट पार्नुभएकाे थियाे । बागी उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेपछि खाण १६ वैशाखमा काठमाडौं फर्किनु भएकाे थियाे । यसै बीचमा प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री श्रेष्ठले पनि उहाँलाई फकाउने प्रयास गर्नुभएकाे थियाे । तर, उहाँसँग पनि जगन्नाथले पुरानै जवाफ दिनुभएकाे थियाे ।

उम्मेदवारी दिनुअघि नै कांग्रेसले बागी उठाने संकेत पाउनु भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि त्यसबारे कांग्रेसको ध्यानाकर्षण गराउनु भएकाे थियाे । कांग्रेस नेताहरूसँगको भेटमा प्रचण्डले बागी उम्मेदवारीबारे नसोच्न आग्रह गर्नुभएकाे थियाे ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा रेणुलाई सहयोग गरेको भन्दै यसपटकको निर्वाचनमा कांग्रेसलाई माओवादीले सघाउनु पर्ने कांग्रेस चितवनका नेता कार्यकर्ताको माग थियो । तर, प्रचण्डले सत्ता गठबन्धन बैठकमा चितवन आफूले जित्न सजिलो हुने बताउँदै मेयरमा आफ्नो भागमा लिएर रेणुलाई मेयरमा उठाउनु भएकाे हाे । कांग्रेसकाे तर्फबाट जगन्नाथ स्वतन्त्र उम्मेदवार बन्नुभएकाे हाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button