पोखरामा शीर्ष नेताको दाबी : राष्ट्रिय आवश्यकता कै कारण गठबन्धन

पोखरा, २५ वैशाख । सत्ता गठबन्धनका शीर्ष नेताहरूले संविधानको रक्षाका लागि आफूहरू एक ठाउँमा उभिनु परेको बताएका छन् । पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनीहरूले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउँदै यसलाई जोगाउनु पर्नेमा जोड समेत दिए ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले स्थायित्वका लागि दलहरूका बिचमा सहमति र सहकार्य जरुरी रहेको बताए । गठबन्धन बचाउनका लागि पोखराका लागि मेयर र उपमेयर लगायतका गठबन्धनका उमेदवारहरुलाई जिताउन उनले आग्रह समेत गरे । विपक्षी दलको विरोधलाई सहन नसक्ने ओली प्रवृत्तिका विरुद्ध गठबन्धन गर्नु परेको उनले बताएका छन् ।

सभापति देउवाले काँग्रेसका लागि गठबन्धनले धेरै फाइदा भएको उल्लेख गरे । उनले गठबन्धनका कारण काँग्रेस फेरी पनि मुलुकको ठुलो दल बन्ने दाबी गर्दै एकीकृत समाजवादी र माओवादीले भन्दा पनि काँग्रेसले बढी मेहनत गरेर उसका उमेदवारहरुलाई जिताउन उनले निर्देशन दिए । गठबन्धनका उमेदवारहरुलाई जिताउने काँग्रेसका कार्यकर्ताहरूको कर्तव्य भएको सभापति देउवाले बताए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देशलाई राजनीतिक दुर्घटनाबाट बचाउन गठबन्धन गरिएको बताए । प्रचण्डले भने, “संविधान निर्माण गरिसकेपछि र निर्वाचन भएर नयाँ परिस्थिति बनिसकेपछि गत साल ठूलो दुर्घटनामा पर्ने देखा पर्‍यो । संविधानमा हुँदै नभएको अधिकारलाई प्रयोग गरेर सदन विघटन गरियो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउने प्रयास भयो । आम नेपाली जनताको निम्ति लामो समय देखि सङ्घर्ष र बलिदानका थुप्रै कृतिमानहरू कायम गरेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन संलग्न सहभागी सम्पूर्ण जनताका लागि दुर्भाग्य कुरा थियो । त्यसैले मुलुकको रक्षाका लागि गठबन्धनको आवश्यक पर्‍यो ।”

निरकुंशता, तानासाही र अराजक भुमरीबाट देशलाई बचाउन पाँच दलीय गठबन्धनको उदय भएको उनले बताए । प्रचण्डले गठबन्धन जन्मिएको दिनदेखि नै अवसरवादीहरूले भत्काउन कोसिस गरेको आरोप लगाए । नेपाली जनताको भविष्य प्रति इमानदारी भएर नै गठबन्धन अगाडि बढेको उनले बताए । स्थानीय तहको निर्वाचनले अग्रगमन र प्रतिगमन विरुद्धको लडाइँलाई प्रस्ट पार्ने भनाई उनको छ । ७० वर्षको लामो सङ्घर्षबाट प्राप्त भएको राजनीतिक र ऐतिहासिक उपलब्धिलाई बचाउन पोखरा महानगरपालिकामा गठबन्धनबाट अघि सारिएका मेयर र उपमेयरका उम्मेदवारलाई जिताउन प्रचण्डले आग्रह गरे ।

यस्तै पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले मुलुकमा अहिले दुई प्रकार गठबन्धनहरू क्रियाशील रहेको बताए । अध्यक्ष नेपालले अहिले वाम लोकतान्त्रिक प्रगतिशील र अर्को दक्षिणपन्थी, प्रतिगामी, संविधान, सङ्घीयता र गणतन्त्र विरोधी गठबन्धन मुलुकमा रहेको बताए । मुलुकमा भएका धेरै परिवर्तनहरूमा काँग्रेस र कम्युनिस्ट एक भएर लागेको बताउँदै अध्यक्ष नेपालले हालसम्मका उपलब्धिका रक्षाका लागि गठबन्धन गरिएको बताए । केपी ओलीले नेपालको कम्युनिस्ट आन्दोलनलाई धोका दिएर भागेको उनले आरोप पनि लगाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button