अव्यवस्थित बसोबासले गाँजिएको पोखरालाई व्यवस्थित बनाउँछौँ : कोपिला रानाभाट

वैशाख २५, पोखरा । गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको उपमेयर पदकी उम्मेदवार कोपिला रानाभाटले गठबन्धन नेतृत्वको सरकारले अव्यवस्थित बसोबासले गाँजिएको पोखरालाई व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरिन् । आइतबार पोखरा ९ को चुनावी सभा कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

रानाभाटले खास गरी पोखरा ९ मा अव्यवस्थित बसोबास गर्ने नागरिकलाई व्यवस्थित गराउने जिम्मेवारीका साथ गठबन्धन सरकार चुनावी मैदानमा उत्रिएको बताइन् । उनका अनुसार पोखरा ९ को विकास र समृद्धिका लागि गठबन्धनले चालेका कदम प्रभावकारी रहनेछ ।

पर्यटकीय विकासको थुप्रै सम्भावना बोकेको पोखरामा कृषि, रोजगार, शिक्षाको क्षेत्रमा उल्लेखनीय काम गर्न सकिने भनाई उनको छ ।
‘कृषि क्षेत्रमा टेवा पुग्ने गरी किसानमैत्री कानुन निर्माण गरी सरल सेवा प्रवाह गरिनेछ। सामुदायिक विद्यालयमा शिक्षा निःशुल्क गरिनेछ । स्वस्थ खानेपानी उपलब्ध गराउनेछौँ । सरकारी अस्पताल, निजी अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनेछौँ ।’, रानाभाटले भनिन् ।

पोखरा ९ को बसपार्क क्षेत्रलाई केवल भोट बैङ्कको रूपमा प्रयोग नगरी नागरिकको इक्षानुसारको काम गर्ने प्रणका साथ आफूहरू निर्वाचनमा होमिएको उनले बताइन् ।

नेपाली काँग्रेसले जितेको वडा भएता पनि काम गर्न खोजिएको तर महानगरमा एमाले नेतृत्वको सरकारले काम गर्न नदिएको आरोप उनको छ । वडाको नेतृत्व एउटा पार्टीको महानगरको नेतृत्व अर्को पार्टीको हुँदा विकासको आयोजनाहरू ल्याउन गाह्रो हुने उनले बताइन् ।

वडा र महानगरको तालमेल मिले मात्र वडाको विकास सम्भव हुने भनाई उनको छ । निर्वाचनमा आमा दिदीबहिनीहरूको भूमिका ठूलो भएता पनि पछि महिलाको हकहितका अधिकारका कुरा नसमेटिएको उनले बताइन् । उनले भनिन्, “६ महिना सम्मका सुत्केरीहरूलाई मासिक दुई हजार सुत्केरी भत्ता दिलाउने प्रतिबद्धता हाम्रो हो । दुई वर्षसम्मका बालबालिकालाई पोषण भत्ता उपलब्ध गराउँछौ । प्रत्येक आमा समूह जसले आयआर्जनका लागि आफ्नो समूहलाई अगाडि बढाउन चाहेको छ त्यस्तालाई कम्तीमा विना धितो विना ब्याज ब्यु पुँजी १० लाख दिने योजना गठबन्धनको छ ।”

राजनीतिको धान पाक्न पाँच दिन बाँकी रहेको यसलाई नष्ट गर्न बाँदरहरू सलबलाउन सक्ने भएकाले सुरक्षित बस्न मतदातालाई उनको आग्रह छ । उनले भनिन्, “राजनीतिको धान पाक्न पाँच दिन बाँकी छ । जनावरहरू आउन सक्छन् । उनीहरू आएर खेती नष्ट गर्लान् । तपाईँहरू सतर्क हुनुहोस् । पाँच दिन तपाई नसुत्नुहोस्, हामीलाई अनुमोदन गर्नुहोस्, आगामी पाँच वर्ष हामी सुत्दैनौँ । पोखरा महानगरपालिकाको नेतृत्व गर्दै गर्दा पाँच वर्ष विकासको काममा लाग्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।”, उनले भनिन् ।

चुनावमा मत माग्दा एउटा पार्टीको भएर मागेता पनि जनप्रतिनिधि भएर गइसकेपछि सबैको साझा भइने र त्यसैअनुरूप काम गर्ने उनले बताइन् । महानगरमा देखिएको भ्रष्टाचारको जालोलाई फुकाउने र भनसुनका आधारमा महानगर नचलाउने भनाई उनको छ ।

पोखरा ९ बाट मित्रवत् प्रतिस्पर्धामा वडाध्यक्ष पदमा नेपाली काँग्रेसको तर्फबाट दीपेन्द्र मर्सानी, माओवादीबाट बम बहादुर कार्की छन् ।
यस्तै, सदस्यहरूमा नेपाली काँग्रेसको तर्फबाट भावना श्रेष्ठ, माओवादीबाट मिना गुरुङ, नेपाली काँग्रेसबाट गीता ताम्राकार, माओवादीबाट सुनिता दर्जी, नेपाली काँग्रेसबाट नन्दराम गिरी, माओवादीबाट आस बहादुर विक, नेपाली काँग्रेसबाट लक्ष्मी पहारी र माओवादीबाट रामबहादुर बल्कुटीले उम्मेदवारी दिएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button