पोखराको १५औँ मेयरमा धनराज आचार्य निर्वाचित

उपमेयरमा मञ्जु गुरुङ विजयी

पोखरा । पोखराको १५औँ मेयरको रूपमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित हुनुभएको छ ।महानगरमा खसेको १ लाख ४३ हजार २ सय २८ मत गणना गर्दा आचार्यले ५८ हजार ८९३ मत ल्याउँदै विजयी हुनुभयो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ५२ हजार ८४८ मत मात्रै प्राप्त गर्नुभयो । मेयरमा उहाहरु बिचको मतान्तर ६ हजार ४५ रहेको छ ।

उपमेयरमा नेकपा एमालेकी मञ्जु गुरुङ विजयी हुनुभएको छ । यसअघि पनि महानगरमा उपमेयर रहनुभएकी गुरुङ नेपाली काँग्रेसकी कोपिला रानाभाटलाई तीन हजार ८८३ मत अन्तरले पछि पार्दै पुनः निर्वाचित हुनुभएको हो । गुरुङले ६० हजार ५४६ मत पाउँदा रानाभाटले ५६ हजार ६६३ मत ल्याउनुभयो ।

०१६ सालमा नगर पञ्चायतको रूपमा गठन भएको पोखरामा यसअघि १४ जना मेयरले काम गरिसक्नुभएको छ । पोखराको पहिलो मेयरका रूपमा २०१६ देखि २०१८ सम्म शिवबहादुर थापाले काम गर्नुभयो । २०१९ देखि २०२४ सम्म नगेन्द्रबहादुर रायमाझी, २०२४ देखि २०२८ सम्म अम्बरबहादुर कार्की मेयर बन्नुभयो । २०२८ देखि २०३१ सम्म रुद्रबहादुर कार्की, २०३१ देखि ०३२ सम्म दिलीपकुमार पालिखे र त्यसपछिको ७ महिना रमेशबहादुर भट्टराई मेयर बन्नुभयो ।

२०३२ देखि २०३८ सम्म गणेश शेरचन, २०३८ देखि ०३९ सम्म श्रीप्रसाद गुरुङ, २०३९ देखि ०४१ सम्म उत्तम बहादुर पुन, २०४१ देखि २०४६ सम्म सूर्यबहादुर केसीले मेयरका रूपमा काम गर्नुभयो ।

२०४९ पछि भने स्थानीय निकायको रूपमा निर्वाचन भयो । पहिलो मेयरको रूपमा काँग्रेसका भोला थापा निर्वाचित हुनुभयो । २०५४ मा निर्वाचित हुनुभएका अहिलेका एमाले उम्मेदवार कृष्ण थापा ले मेयर भएर काम गर्नुभयो ।

त्यसपछि २०६० सालमा हर्कबहादुर गुरुङलाई राजाले मेयरमा नियुक्त गरेकोमा दुई वर्षपछि २०६२ सालमा चुनाव भयो, तर तत्कालीन ७ दलले बहिस्कार गरे । भीमसेन थापा राप्रपाबाट मेयर बन्नुभयो ।

नयाँ संविधान जारी भएपनि राज्य पुनः संरचनाबाट २०७४ मा पोखरा महानगरपालिका बन्यो । एमालेका मानबहादुर जिसी १४औँ मेयरका रूपमा निर्वाचित हुनुभयो । उहाँको ५ वर्षे कार्यकाल सकिएपछि अहिले १५ औँ मेयरका रूपमा एमालेबाटै विभाजित भएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष समेत रहनुभएका आचार्य पोखराको बागडोरमा पुग्नुभएको छ । गठबन्धनका दलहरुबीचको सहमतिमा पोखरा महानगरपालिकाको मेयर पद एकिकृत समाजवादीको भागमा परेपछि नेता आचार्यलाई पार्टीले बैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय गरेकोथियो  । पोखराको मेयरमा २३ जनाको प्रतिस्पर्धा थियो ।

को हुन धनराज ?

पोखरा महानगरपालिका  ३३ जन्मथलो भएका नेता आचार्य एकिकृत समाजवादी पार्टीको कास्की अध्यक्षका साथै केन्द्रीय सदस्य समेत हुनुहुन्छ । २०२६ चैत्र २७ गते बुबा ऋतुनाथ आचार्य र आमा जमुनादेवी आचार्यको कोखबाट जन्मिनुभएका  आचार्यको राजनीतिक यात्रा भने कलिलै उमेरदेखि शुरु भएको थियो । उहाँ १३ वर्षको उमेरमा नै अनेरास्ववियुको सदस्य बन्नुभयाे । कास्कीको भरतपोखरीमा २०३९ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटिको सदस्यतासँगै उहाँको विद्यार्थी राजनीति शुरु भयो ।

विद्यालयबाट आरम्भ भएको उहाँको विद्यार्थी राजनीतिले क्याम्पस तहमा पुगेपछि थप गति लियो । देशकै ठूलो र प्रतिष्ठित मानिने पोखराको पृथ्वी नारायण क्याम्पसमा उहाँ अनेरास्ववियुको प्रारम्भिक कमिटि मार्फत सक्रिय बन्न पुग्नु भयो ।

एमाले सम्वध्द विद्यार्थी संगठनमा २०४४ मा आवद्ध भए पश्चात उहाँ अनेरास्ववियुको विभिन्न जिम्मेवारीमा रहन सफल हुनु भयो । २०४५ सालमा अनेरास्ववियुको कास्की जिल्ला सदस्य रहनु भएका आचार्य त्यसपछि संगठनको सचिव र अध्यक्षका रुपमा सक्रिय बन्नुभयो ।

त्यसो त उहाँको सक्रियता अनेरास्ववियुमा कास्की जिल्लामा मात्र सिमित रहेन । २०४८ सालमा अनेरास्ववियुको गण्डकी अध्यक्ष बन्नुभएका उहाँ २०४९ सालमा सो संगठनको केन्द्रीय सदस्य चुनिन सफल हुनु भयो ।

एमाले पार्टी निकट विद्यार्थी संगठनको राजनीतिमा सक्रिय उहाँ पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निवार्चनमा विभिन्न पदमा निर्वाचित हुनुभयो । २०४९ सालमा उहाँ पृथ्वीनारायण क्याम्पसको स्ववियुको कोषाध्यक्ष बन्नुभयो । तीन वर्ष युनियनको कोषाध्यक्ष रहनु भएका उहाँ २०५१ मा स्ववियुको सभापति चुनिन सफल हुनुभयो ।

२०५१ सालदेखि २०५३ सालसम्म उहाँ स्ववियु काउन्सिलको महासचिव बन्नुभयो । अनेरास्ववियुमा २०५० सालदेखि २०५४ सालसम्म पश्चिमाञ्चल प्रमूख र २०५४ सालदेखि २०५८ सालसम्म केन्द्रीय सचिवालय सदस्य बनेर विभागीय प्रमूखको जिम्मेवारी निर्वाह गर्न सफल हुनुभएको थियो ।

विद्यार्थी राजनीतिमा जस्तै पार्टी जीवनमा पनि उहाँ कलिलै उमेरमा होमिनु भएको पाइन्छ । १४ वर्षको उमेरमा नै उहाँ तत्कालिन नेकपा मालेको युवा लिगमा आवद्ध हुन पुग्नुभएको थियो ।

२०४४ सालमा नेकपा माले पार्टी सक्रिय दल र सोही वर्ष उम्मेदवार पार्टी सदस्य बन्नुभएका आचार्य संगठनको जेल विभागमा आवद्ध हुनु भयो ।

२०४५ सालमा राष्ट्यि पञ्चायतका सदस्य प्रत्याह्वान विरुद्ध आन्दोलन घाइते र गिरफ्तार आचार्य दुई वर्ष निरन्तर जेलका राजवन्दी र पार्टीबीचको सम्पर्क सुत्रको जिम्मेवारीमा रहनु भयो ।

उहाँले २०४७ सालमा नेकपा मालेको संगठित सदस्यता प्राप्त गर्नुभएको थियो । तत्पश्चात उहाँले २०४६ सालदेखि पाँच वर्षसम्म पार्टी विद्यार्थी इलाका कमिटिमा सदस्य र सचिवको जिम्मेवारी निर्वाह गर्नुभयो । नेकपा एमाले कास्की जिल्ला कमिटि सदस्यका रुपमा २०५२ सालमा जिम्मेवारीमा रहनु भएका नेता आचार्य २०५४ सालमा पार्टी विभाजनका बेला नेकपा मालेमा आवद्ध हुन पुग्नुभयो ।

२०५४ सालमा नेकपा मालेको कास्की जिल्ला कमिटिको सचिवालय सदस्य रहनु भयो । पार्टीको विद्यार्थी संगठनबाट राजनीतिक यात्रा शुरु गर्नु भएका आचार्यले व्यवसायिक संगठनहरुको नेतृत्वमा रहेर पनि कार्य गर्नुभयो । २०६० सालमा नेकपा एमाले कास्कीको उद्योग व्यवसाय विभाग प्रमूख रहनु भएका उहाँ २०६४ सालदेखि पाँच वर्षसम्म फ्रयाक्सन सचिवका रुपमा रहनु भयो ।

त्यसैगरी २०६९ सालदेखि २०७६ सालसम्म नेपाल उद्योग व्यवसायी महासंघको स्थायी कमिटि सदस्य र २०७१ सालदेखि चार वर्षसम्म नेकपा एमाले केन्द्रीय उद्योग तथा श्रम व्यवसाय विभाग सदस्य बन्नु भयो ।

२०७५ सालदेखि २०७८ सालसम्म नेकपाको उद्योग तथा व्यवसाय विभाग सदस्य रहनुभएका आचार्य पाटीमा आन्तरिक विवादसँगै अगाडि बढेका समानान्तर गतिविधि सामेल हुनु भयो । एमाले पार्टीभित्र कास्कीमा समानान्तर गतिविधि अगाडि बढाउन उहाँले नेतृत्व लिनु भयो ।

२०७८ सालामा नेकपा एमाले जिल्ला कमिटि कास्कीको सामानान्तर कमिटिको अध्यक्ष बन्नु भयो । एमालेभित्र नेता माधव नेपालले थालेको समानान्तर गतिविधिमा सामेल उहाँ पार्टी विभाजनसँगै स्थापना भएको नेकपा एकिकृत समाजवादीको जिल्ला नेतृत्वमा रहनु भएको छ ।

राजनीति बाहेक उहाँ विभिन्न व्यवसायिक र सामाजिक संस्थाहरुमा पनि अध्यक्ष, संचालक र प्रमोटरका रुपमा आवद्ध रहँदै आउनु भएको छ । उहाँको पाठ्यपुस्तक प्रकाशन गृह, शैक्षिक सामग्री उद्योग, स्कूल कलेज संचालन, रसायनिक मल उद्योग र हाइडेपावर जस्ता व्यवसायिक क्षेत्रमा संलग्नता रहेको छ । त्यसैगरी कृषि, पर्यटन, बैकिग र हस्पिटालिटी लगायत २ दर्जन व्यसायिक प्रतिष्ठानमा संग्लन हुनुहुन्छ ।

नेपाल पुस्तक तथा व्यवसायी महासंघको महासचिव र राष्ट्रिय अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघको कार्यकारी सदस्य, उच्च स्तरीय पुस्तक नीति मस्यौदा समितिको विज्ञ सदस्य र पाठ्य पुस्तक मूल्य निर्धारण समितिमा विज्ञ सदस्यका रुपमा उहाँले कार्य गरिसक्नु भएको छ ।

पोखरा महानगरको शिक्षा विज्ञ, लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिस्ट्कि ३२५ बी १को क्याबिनेट सेक्रेटरी र गर्भनर रहनुभएका उहाँ स्व. रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठान पोखराको महासचिव हुनुहुन्छ ।

पढाऔं अभियान नेपालका सुत्राधार उहाँले अर्थतन्त्र, शिक्षा प्रणाली तथा नीतिका सन्दर्भमा दर्जनौ कार्यपत्र प्रस्तुत गर्नुभएको छ । देशका ७५ जिल्लाको अध्ययन भ्रमण गर्नु भएका उहलोँ विभिन्न तालिम र अध्ययनका सिलसिलामा विश्वका ४५ देशको भ्रमण गर्नुभएको छ ।

एमबिए र एमएड अध्ययन गर्नुभएका आचार्य स्वर्गीय नेता रविन्द्र अधिकारीका सहपाठी र सहयाेद्दा हुनुहुन्छ । उहाँ स्पष्ट वक्ता र कुशल नेतृत्वका कारण राजनीतिक तथा सामाजिक क्षेत्रमा परिचित हुनुहुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button