तनहुँको आँबुखैरेनी-मुग्लिन खण्ड आज बेलुका ७ बजेदेखि बन्द गरिने

तनहुँ, २७ जेठ । पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड आज बेलुका ७ बजेदेखि बन्द गरिने भएको छ । आँबुखैरेनी–४ पावर हाउस नजिक बिहान सडक भासिएपछि अवरुद्ध भएको उक्त सडकखण्ड मर्मतका लागि बेलुका ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म बन्द गर्न लागिएको हो ।

बिहान सडक भासिएपछि उक्त ठाउँमा साना सवारीसाधन मात्रै सञ्चालन भइरहेका छन् । सडक भासिएको ठाउँमा भित्तापट्टी सडक खन्न थालिएको छ । डेढ/दुई मिटर भित्ता खनेर सडक सञ्चालन गर्न काम भइरहेको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख लक्ष्मी केसीले जानकारी दिइन् । “ रातिको समयमा जोखिम सडक भासिएपछि बिहानैदेखि अलपत्र सर्वसाधारणलाई पैदल हुँदै वारपार गराइएको छ ।”

यसैबीच गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विकले उक्त खण्डको आजै निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री विकले छिटो काम सकेर यातायात सञ्चालनमा सहजता ल्याउन निर्देशन दिए ।

सडक भासिएर उक्त ठाउँबाट कार र मोटरसाइकल खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये एक जनाको सनाखत भएको छ भने अर्का व्यक्तिको सनाखत नभएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।

गोरखा घर भई आँबुखैरेनी–२ बस्ने ३५ वर्षीय केशव घिमिरेको सनाखत भएको उनले बताए । अर्का व्यक्तिको सनाखत गर्न प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button