पहिरोले स्याङ्जाको वालिङ–जगत सडकखण्ड अवरुद्ध

स्याङ्जाको वालिङ–जगत सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । वालिङ नगरपालिका–६ मिर्दीस्थित सिद्धार्थ राजमार्गबाट चापाकोट नगरपालिका, हरिनास र बिरुवा गाउँपालिकासहित पूर्वी पाल्पालाई जोड्ने उक्त सडकको वालिङ–५ लसुनेमा पहिरो खसेको थियो ।

सडकमाथिबाट चट्टानसहितको ठूलो पहिरो खसेर बाटो पुरिएकाले सडक अवरुद्ध भएको वालिङ–५ का वडाध्यक्ष छविलाल आलेले जानकारी दिनुभयो । अविरल वर्षासँगै ठूलो पहिरो झरेकाले सिद्धार्थ राजमार्गदेखि दुई–तीन पालिकाको केन्द्र जोड्ने सडक अवरुद्ध भएसँगै सवारीसाधन तथा यात्रुबीच बाटोमै रोकिएका छन् ।

सडक खुलाउनका लागि वालिङ नगरपालिकाबाट डोजर आउँदै गरेको उहाँले बताउनुभयो । प्रहरी तथा जनप्रतिनिधि पहिरो खसेको स्थानमै पुगेर बाटो खुलाउनका लागि पहल तथा सवारीसाधनको व्यवस्थापन मिलाउने काम गरेका छन् ।

सवारीसाधनको चाप बढी हुने यस सडकमा तत्कालका लागि एकतर्फी भए पनि बाटो सञ्चालन गर्नतर्फ लागिएको उहाँले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button