पोखराको फोहोर व्यवस्थापनको उपाय खोज्दै मेयर आचार्य जटायु रेष्टुरेन्टमा

पोखराको फोहोर व्यवस्थापनको उपाय खोज्दै मेयर धनराज आचार्य जटायु रेष्टुरेन्ट पुग्नुभएको छ ।

पुर्वी नवलपरासीमा सञ्चालित जटायु रेष्टुरेन्टको मेयर आचार्यसहितको टोलीले सोमबार अवलोकन गरेको हो । सञ्चालनको अन्तिम तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ल्याण्डफिल्ड साइड आसपासमा बसोबास गरिरहेका पंक्षीहरुका कारण विमानस्थल सञ्चालनमा अवरोध हुने भएपछि तिनीहरूलाई आवश्यक आहारा तथा सुरक्षित आवासका लागि स्थानान्तरण आवश्यक रहेकाले उचित व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा जटायु रेस्टुरेन्टको अवलोकन गरिएको प्रमुख आचार्यले बताउनुभयो ।

“पोखरामा हामीलाई २० औँ वर्षलाई पुग्ने ल्याण्डफिल्ड साइड सञ्चालनमा थियो, पोखराको फोहोर कहाँ फाल्ने र कसरी व्यवस्थापन गर्ने भन्ने कुनै चिन्ता थिएन, प्रमुख आचार्यले भन्नुभयो, तर आज अवस्था फेरिएको छ, अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनेभएपछि हाल सञ्चालनमा रहेको स्थानबाट ल्याण्डफिल्ड अन्यन्त्रै सार्नुपर्ने भएको छ, हामी उपयुक्त विकल्प खोजिरहेका छौँ ।” प्रमुख आचार्यले ल्याण्डफिल्डको दिगो व्यवस्थापन गरी उपयुक्त निकास खोजिने बताउनुभयो । उहाँका अनुसार विमानस्थललाई सुरक्षित बनाउनका लागि पंक्षीहरुको स्थानान्तरण पनि चुनौतीपूर्ण छ ।

“हाल अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा चिलहरूले घाम तापिरहेका हुन्छन् । आसपासमा कयौँको सङ्ख्यामा गिद्ध र चराचुरुङ्गीहरू पनि आवतजावत गरिरहेका छन्, प्रमुख आचार्यले भन्नुभयो, तिनीहरूको व्यवस्थापनका लागि उपयुक्त विकल्पका रूपमा जटायु रेस्टुरेन्ट एक हुनसक्छ भन्ने हेतुले नवलपुरमा भइरहेको गिद्ध संरक्षण कार्यको अवलोकन गरिएको हो ।” नवलपुरमा गिद्धहरूको संरक्षणका लागि गरिएको कार्य प्रशंसनीय रहेको उहाँले बताउनुभयो ।

नेपालमा पहिलो पटक पूर्वी नवलपरासीको कावासोती नगरपालिका अन्तर्गत नमुना मध्यवर्ती सामुदायिक वनमा जटायु रेस्टुरेन्ट स्थापना गरी गिद्ध संरक्षण अभियान सुरु गरिएको हो । हाल रेस्टुरेन्टमा सयौँ गिद्धहरू रहेका छन् । गिद्धहरू लोप हुँदै गएपछि नेपालमा पनि यसको संरक्षण कार्य सुरु गरेको जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिका संयोजक एवं पक्षीविद् डिबी चौधरीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button