भट्ट फाँटमा ड्रागन फ्रुट फलाउँदै कुमाल

एक दशकअघिसम्म लटरम्म भट्ट फल्ने भएकाले गोरखाको पालुङटार नगरपालिका– ७ च्याङ्ली भट्ट फाँटका रुपमा परिचित थियो ।

समयक्रमसँगै कृषिप्रतिको अनिइच्छाका कारण यतिखेर यो गाउँमा अहिले पहिलेको जस्तो भट्ट पाइँदैन । च्याङ्लीको कालो भट्टको बजारमा राम्रो माग भए पनि अहिले उक्त भट्ट नै लोपोन्मुख अवस्थामा पुगेको छ ।

त्यही भट्ट फाँटमा युवा केबी कुमालले यतिखेर १२ रोपनी क्षेत्रफलमा ड्रागनखेती थाल्नुभएको छ । एक वर्षअघिदेखि चार हजार बिरुवा लगाउनुभएको उहाँको गण्डकी ड्रागन फ्रुट तथा कृषि फार्ममा एक वर्षमा नै ड्रागन फलको उत्पादन सुरु भइसकेको छ । मुख्य पेशा बैंकिङ रहे पनि विद्यार्थीकालदेखि नै कृषिप्रति आकर्षित कुमालले एक हजार खम्बामा चार-चारवटा बिरुवाका दरले चार हजार बिरुवा लगाउनुभएको छ ।

मलेसियन प्रजातिको रातो ड्रागन फलका बिरुवा नवलपरासीबाट ल्याएको जानकारी दिँदै लगाएको एक वर्षमा नै फल्न थालेपछि आफू उत्साहित बनेको उहाँले बताउनुभयो । हालसम्म ७० किलो बिक्री गरिसकेको र बजारमा प्रतिकिलो रु ८०० दरले बिक्री भइराखेको उहाँले बताउनुभयो ।

कुमालको फार्ममा पृथ्वीराजमार्गको पोखरा–काठमाडौँ मार्गको डुम्रे बजारबाट तीन किलोमिटर तल नयाँ पुल बजारबाट करिब डेढ किमी दूरी पार गरेपछि पुग्न सकिन्छ । फार्मसम्म आउनका लागि ग्राभेलयुक्त बाटो रहेको उहाँले जानकारी दिनुभयो ।

फार्म सञ्चालनसँगै एक जना युवाले प्रत्यक्ष रोजगारी पाएका छन् भने अन्यले दिनप्रतिदिन अप्रत्यक्षरुपमा रोजगारी पाइराखेका छन् । तत्कालीन समयमा प्रतिबिरुवा पाँच सयका दरले चार हजार बिरुवा ल्याएका कुमालले त्यसको पिल्लर निर्माण, टायर खरिद आदि गरी हालसम्म करिब ६० लाख रुपैयाँ खर्च भइसकेको जानकारी दिनुभयो ।

यसका लागि बजार समस्या नरहेको जानकारी दिँदै उहाँले मुख्य बजारमा यसको माग रहेको बताउनुभयो । उहाँका अनुसार सामान्यतः एउटा बोटबाट १५-२० किलोसम्म फल्ने देखिएको छ ।

यो फल दक्षिण अमेरिकाको मेक्सिकोमा फल्ने सिउँडी प्रजातिको रैथाने फल हो । यसको बोट सिउँडीको जस्तै हुन्छ । एशियामा पहिलोपटक भियतनामले भित्र्याएको यो फल थाइल्यान्ड, मलेसिया र इन्डोनेशिया हुँदै पछिल्लो समयमा नेपालीको पनि आकर्षण बन्दै गएको छ ।

“हाइलोसेरुस अन्डटुस” वैज्ञानिक नाम रहेको यसलाई मुन लभर्स, रात कि रानी, रातकी घण्टी, क्यान्डेलेरा आदि नामले पनि चिनिन्छ । नेपालमा पहिलोपटक २०५७ सालमा भित्रिएको मानिने यो फलको पछिल्ला वर्षमा ठाउँठाउँमा व्यासायिक खेती थालिएको छ ।

यसको खेतीका लागि धेरै पानी तथा मल आवश्यक नपर्ने पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कँडरियाले जानकारी दिनुभयो । नेपालका धेरै स्थानमा यसको खेती गर्न सकिने बताउँदै उहाँले यसबाट सर्वसाधारणलाई आयआर्जनसँग जोड्ने पर्याप्त सम्भावना रहेको बताउनुभयो ।

बहुऔषधीय गुण रहने यो फल मधुमेह, बाथरोग, क्यान्सर, पेटको समस्या लगायतमा उपयोगी हुने प्रमाणित भइसकेको छ । पछिल्ला समयमा प्रमुख बजारमा बिक्रीवितरण हुने गरेको यसको राज्यस्तरबाट प्रवद्र्धनको खाँचो रहेको व्यवसायी कुमालले बताउनुभयो ।

कृषि महाशाखा प्रमुख कँडरियाका अनुसार ड्रागनका लागि दक्षिणी मोहडायुक्त, घमाइलो स्थान आवश्यक हुन्छ । यसको बिरुवा एक वा एक वर्षभन्दा बढी उमेरको बिरुवाबाट काटेर निकाल्न सकिन्छ । एकपटक उत्पादन सुरु गरिसकेपछि करिब २५ वर्षसम्म यसको उत्पादन निरन्तर लिन सकिन्छ ।

प्रमुख मात्रामा एन्टिअक्सिडेन्ट, ओमेगा, भिटामिन सी, फलाम र प्रशस्त मात्रामा पानी पाइने यस फलमा छालालाई चाहिने तत्व पाइनुका साथै प्रशस्त फाइबर हुने भएकाले पाचन प्रणालीलाई समेत यसले चुस्तदुरुस्त बनाउने गर्दछ । यसमा क्यालसियम पाइने भएकाले दाँत र हड्डी बलियो बनाउँछ । त्यस्तै डेङ्गु, सुगर, मुटु आदि रोगीका साथै बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिलाका लागि उपयोगी हुन्छ । उच्च रक्तचाप र कोलेस्ट्रोरको सन्तुलनका साथै कब्जियत, मोटोपन, क्यान्सर आदिमा यो उपयोगी हुन्छ ।

बिरुवा लगाउँदा सकेसम्म एक फिटसम्मको बिरुवा आवश्यक हुने बताउँदै कुमालले सकेसम्म कलिलो बिरुवा लगाउन नहुने कुमालले जानकारी दिनुभयो ।

कुमालले भट्ट फाँटमा ड्रागनखेती गरेसँगै च्याङ्लीका अन्य स्थानीय पनि दङ्ग छन् । गाउँमा नयाँ जातको खेती सुरु गरिँदा आफूहरूमा पनि यसबारे जिज्ञासा बढाएको स्थानीय बासिन्दा देउकुमारी कुमालले बताउनुभयो ।

guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्

सम्बन्धित खबर

Back to top button