तीन वर्षमै चुहिन थाल्यो घरेलु कार्यालय भवन

एउटा सरकारी कार्यालय भवन निर्माण भएको कति वर्षपछि मर्मत गर्नुपर्ला ? सरकारी मापदण्डमा निर्माण भएको पक्की भवन कम्तीमा पनि १०–१५ वर्ष त केही मर्मतै गर्नुपर्दैैन । तर घरेलु तथा साना उद्योग कार्यालय बागलुङको भवन निर्माण सम्पन्न भएको तीन वर्षमै मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ ।

बाहिरबाट झट्ट हेर्दा भवन सुन्दर देखिए पनि भित्र पानी रसाउने समस्याले गर्दा भवनको भित्री भाग जीर्ण बन्न पुगेको छ । उक्त भवनको भित्र पानी रसाएर रङसँगै प्लाष्टर उप्किने, छतसमेत चुहिने गरेको छ । भवनभित्र रहेको शौचालयमा जोडिएको पाइप जडान कमजोर हुँदा पानी रसाएर पस्नै नसक्ने अवस्था रहेको छ ।

जीर्ण रहेको उक्त कार्यालय भवनको करिब तीन वर्षअघि भूकम्पले भत्काएपछि पुनःनिर्माण गरिएको हो । विसं २०७६ भदौ २० गते गण्डकी प्रदेश सरकारका तत्कालीन उद्योग, पर्यटन वन तथा बातावरणमन्त्री विकास लम्सालले भवनको उद्घाटन गर्नुभएको थियो ।

भवनको पहिलो तलाकै भित्तामा प्लाष्टर उप्किएर भवन जीर्ण देखिएको घरेलु तथा साना उद्योग कार्यालय बागलुङका सूचना अधिकारी विष्णुनाथ शर्माले जानकारी दिनुभयो । “सेवाग्राहीले समेत भवन बिग्रिसकेछ भन्नुहुन्छ, भवनको बाहिर मन्त्रीको नामसहितको उद्घाटन बोर्ड छ, सबैले नयाँ भवन कसरी बिग्रिएको भन्नुहुन्छ, भित्ताको प्लाष्टर छुँदा मात्र पनि भुइँमा झर्छ ।”

शर्माका अनुसार भवन तत्कालै मर्मत गर्न आवश्यक रहेको छ । भवन रु एक करोड ७० लाखमा पुनःनिर्माण भएको थियो । उक्त भवन जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनले ठेक्कामार्फत निर्माण गरेको हो । भवन निर्माण गर्दा कमसल सामग्री प्रयोग गरेका कारण भवनको गुणस्तर कमजोर भएको कार्यालयको भनाइ छ । भवनको झ्याल–ढोका नलाग्नेलगायतका समस्या रहेको घरेलु तथा साना उद्योग कार्यालय बागलुङले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button