
केही दिनयताको बदली पछि आज पोखराको आकाश सफा हुँदा गर्मी पनि उल्लेख्य रुपमा बढेको छ । आज मध्याह्न पोखराको तापक्रम ३४ डिग्री सेल्सियस रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेको र देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ ।
विभागका अनुसार आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव चार डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस छ ।
पोखराको आजको न्युनतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ भने साँझपख वर्षाको सम्भावना छ ।





