
पोखरामा १२ घन्टाको बीचमै दुई एटिएम मेसिन फोड्ने प्रयास भएको छ ।
जिल्ला प्रहरी कास्कीका अनुसार असोज ३ गते दिउँसो पोखरा-९ नयाँबजारस्थित कृषि विकास बैंकको एटिएम फोडेर रकम चोर्दै गरेका २ जना पक्राउ परेका थिए । पक्राउ पर्नेमा पोखरा-१६ बस्दै आएका २२ वर्षीय सन्दीप बस्नेत र सोही स्थानका १९ वर्षीय अनिस राना मगर रहेको प्रहरीले जनाएको छ । बस्नेत घटनास्थलबाटै र मगर भाग्दै गरेको अवस्थामा पक्राउ परेका थिए ।
यता उक्त घटना भएको १२ घन्टा नबित्दै लेकसाइडको एनएमबी बैंकको अर्को एटिएम पनि फोड्ने प्रयास भएको छ । असोज ४ गते बिहान करिब २ बजे खुकुरी बोकेर एटिएम फोड्ने प्रयास गर्दै गरेका मनोज कुमाललाई पनि प्रहरीले पक्राउ गरेको हो । २५ वर्षीय कुमाल धादिङको त्रिपूरा सुन्दरी गाउँपालिका-१ स्थायी बसोबास भई हाल पोखरा-८ बगालेटोल बस्दै आएका थिए ।
तीनै जनालाई पक्राउ गरि जिल्ला अदालत कास्कीबाट चोरी उद्योग मुद्दामा ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको पनि प्रहरी उल्लेख गरेको छ । दुवै घटना सम्बन्धित भए नभएको बारे पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
यस अघि एनएमबी बैंक कै पोखरा-२७ लेखनाथचोकमा रहेको एटिएम मेसिन फोडेर रकम चोरिएको थियो ।





