पोखराको विद्युत आपूर्ति भरपर्दो बनाउन जापानको ऋण सहयोग

नेपाल विद्युत प्राधिकरणले जापान सरकारको सहुलियतपूर्ण ऋणमा पोखरा र काठमाडौंको सहरी क्षेत्रको विद्युत प्रसारण तथा वितरण प्रणाली विस्तार तथा सुधार गर्ने भएको छ ।

जापान सरकारबाट प्राप्त हुने करिब १४ अर्ब २ करोड रुपैयाँबाट १३२ केभी क्षमताका पाँचवटा नयाँ सबस्टेसन निर्माण गरिने भएको हो । त्यस्तै सोही सहुलियत ऋण प्याकेजबाटै सहरी क्षेत्रमा १५ किलोमिटरभन्दा बढी १३२ केभी प्रसारण लाइनलाई भूमिगत गरिने भएको छ ।

योजनाअन्तर्गत पोखराको विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन पोखरा महानगरपालिका–१७ बिरौटामा १३२/११ केभी सबस्टेसनको निर्माण गरिने छ । प्राधिकरणले कालीगण्डकी–लेखनाथ १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युतलाई बिरौटामा सबस्टेसन बनाएर पोखराको सहरी क्षेत्रमा आपूर्ति गर्ने छ भने प्रसारण लाइनबाट सबस्टेसनसम्म करिब ६ सय मिटर लाइनलाई भूमिगत गरिने छ । सबस्टेसन निर्माणका लागि बिरौटास्थित फेवा विद्युतगृहको जमिन प्रयोग गरिने जनाइएको छ ।

त्यस्तै काठमाडौं उपत्यकाको थापाथली, महाराजगञ्ज, राजदरबार तथा सिरुटारमा पनि १३२/११ केभी सबस्टेसन निर्माण गरिने भएको छ । सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयनका प्राप्त हुने सहुलियतपूर्ण ऋणको वार्षिक ०.०१ प्रतिशत ब्याजदर, ३० वर्षको भुक्तानी र १० वर्षको ग्रेस अवधि रहेको छ ।

आयोजनाको कार्यान्वयनबाट काठमाडौं र पोखरालगायतका सहरमा प्रसारण चुहावट घट्ने, वितरण प्रणालीको क्षमता विस्तार हुने, विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ । आयोजना कार्यान्वयनका लागि बुधबार नेपाल सरकारकातर्फबाट अर्थ सचिव कृष्णहरि पुष्कर र जापान सरकारका तर्फबाट नेपालका लागि जापानका राजदूत किकुता युताकाले आदानप्रदान पत्र तथा रेकर्ड अफ डिस्कसनमा हस्ताक्षर गरेका थिए ।

त्यसैगरी, ऋण सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र जाइका नेपालका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button