काठमाडौँको कपन आगलागी : मृतक तीन जनाकै सनाखत, थप एक घाइते

काठमाडौँको कपनस्थित लसुनटारको एक घरमा भीषण आगलागी हुँदा तीनजनाको मृत्यु भएको छ ।

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित ट्रेकिङ अफिस र ट्रेकिङमा प्रयोग हुने सामानहरु राखिएको घरमा बुधबार साँझ पौने ७ बजेतिर भीषण आगलागी हुँदा तीनजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ताप्लेजुङ घर भएका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, सङ्खुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौंको रानीबारी बस्ने २५ वर्षीय छेवाङ शेर्पा रहेका छन् ।

त्यस्तै काठमाडौँ कपन बस्ने कुशल बुढाथोकी आगलागीबाट गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनको चुनिखेलस्थित करुणा अस्पतालमा उपचार भइरहेको छ । मृतक मध्ये दुईको घटनास्थलमै र अर्का एक जनाको शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको थियो ।

पौने सात बजेदेखि लागेको आगो नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गरि करिब ३ सय जनशक्ति परिचालित गरिएको थियो । आगलागी निभाउन ९ दमकल र १० ट्याङ्कर पानी लागेको प्रहरीले बताएको छ ।

ट्रेकिङमा प्रयोग हुने अक्सिजन सिलिन्डरहरु कार्यालयमै रहेको हुँदा आगलागी अझ खतरनाक भएको जनाइएको छ । महानगरीय प्रहरी प्रभाग कपनका अनुसार आगलागीबाट भएको क्षतिको पूर्ण विवरण संकलन गरिसकिएको छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button