कसरी फैलियो चीनमा सैन्य कु भएको हल्ला ?

सामाजिक सञ्जालमा हाल चिनियाँ राष्ट्रपति सि जिनपिङको नाम ट्रेन्डिङको शीर्ष पाँचमा रहेको छ ।

ट्वीटरमा मात्रै सि जिनपिङ ह्यासको ५३ हजार बढी ट्विट भइसकेका छन् । सबैको ट्विटको जिज्ञासा भने एकैतिर मोडिएको छ । आखिर चीनमा के हुँदैछ ? चीनमा सैन्य कुको प्रयास र जिनपिङलाई नजरबन्दमा राखिएको हल्लासँगै यो विषयले सामाजिक सञ्जाल तातेको हो ।

हालसम्म चिनियाँ पक्षबाट कुनै आधिकारिक प्रतिक्रिया नआउनुले यस हल्लालाई थप मलजल पुर्याएको छ । तर यो हल्लाको शुरुआत कसरी भयो त ? भारतीय सञ्चारमाध्यमहरुका अनुसार फ्लाइटराडार नामक स्वतन्त्र हवाई उडानहरुलाई निगरानी गर्ने वेबसाइटले बेइजिङ विमानस्थलबाट हुने अधिकतम उडान रद्द भएको जानकारी दिएसँगै यो खबर फैलिएको हो । सेप्टेम्बर ११ मा मात्रै त्यहाँ छ हजार बढी हवाई उडान रद्द भएको दाबी गरिएको छ ।

उडानहरु रद्द हुनुको कारण कसैले सैन्य गतिविधिका लागि भनेका छन् भने कसैले कोभिडको कारण देखाएका छन् तर यसको वास्तविक कारण भने चिनियाँ पक्षले मात्र स्पष्ट पार्न सक्नेछ । त्यस्तै चिनियाँ कम्युनिस्ट पार्टीले हाल चलाइरहेको भ्रष्टाचार विरोधी अभियानका क्रममा केही दिन अघिमात्र दुई पुर्व मन्त्रीसहित चार सरकारी अधिकारीलाई मृत्युदण्ड दिएको घटनाले पनि सैन्य कुको सम्भावनालाई थप जोड दिएको हो ।

चीनका पुर्व राष्ट्रपति बेन जियाबाओ र हु जिन्ताओले यसै घटनाक्रमसँग जोडेर चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो कमिटीलाई सि जिनपिङलाई नजरबन्दमा राख्न सुझाएको र त्यसैअनुरुप सेन्ट्रल गार्ड ब्युरोको कमाण्ड जिनपिङबाट आफ्नो हातमा लिएर उनलाई नजरबन्दमा राखिएको दाबी गरिएको छ ।

चीनको राष्ट्रिय कङ्ग्रेसको २० औं सभा हुन केही हप्ता अघि मात्र यी दाबीहरु सतहमा आएका हुन् । २० औं राष्ट्रिय कङ्ग्रेसबाटै जिनपिङ आफ्नो तेस्रो कार्यकालका लागि चुनिने व्यवस्था रहेको छ । त्यसैले पनि सत्तापलटको यो दाबी बाहिर आएको अनुमान गरिएको छ ।

सि जिनपिङ यस अघि उज्वेकिस्तानमा आयोजित साङ्घाई सहकार्य संस्था शिखर वार्तामा देखिएका थिए । यसै समयमा उनीबाट उनको कार्यकारी अधिकार छिनिएको बताइएको छ । भारतीय मिडियाले भने नेपाली पक्षलाईसमेत मुछ्दै नेपाल र ताइवानका चीन विरोधी ट्वीटर एकाउण्ट मार्फत यी हल्ला फिजिएको आरोप लगाएका छ्न् ।

बेइजिङमा रहेको अर्जेन्टिनी दूतावासले पनि कु वा नजरबन्द सब हल्ला मात्रै भएको बताएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button