पोखरामा मङ्गलबार एक दिने सडक महोत्सव हुँदै

विश्व पर्यटन दिवस अर्थात सेप्टेम्बर २७ का दिन पोखरामा एक दिने सडक महोत्सव हुने भएको छ ।

रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) ले यही असोज ११ गते पर्यटन दिवसका दिन सडक महोत्सव गर्न लागेको हो । ‘पर्यटनमा पुनविचार गरौँ’ भन्ने नारासहित यस वर्ष पर्यटन दिवस मनाउन लागिएको रेवानले जानकारी गराएको हो ।

हरेक वर्ष गर्दै आएको एक दिने सडक महोत्सव यस वर्ष लेकसाइड क्षेत्रको फिस्टेल गेटदेखि वाराहीचोकसम्मको क्षेत्रमा बेलुका पाँच बजेदेखि राती १० बजेसम्म गर्न लागिएको रेवानका महासचिव एवम् कार्यक्रम संयोजक विकास भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल पर्यटन बोर्डको प्रबर्द्धनमा हुन लागेको उक्त महोत्सवमा विभिन्न साङ्गीतिक कार्यक्रमका साथै स्वदेशी तथा विदेशी खानाका परिकार प्रस्तुत गरिनेछ भने जातीय भेषभुषासहितका सांस्कृतिक नृत्य, गन्धर्व गायन, नेवारी लाखे नाँच, पञ्चे बाजा र साहसिक खेलकुद तथा पर्यटकीय आकर्षण वृत्तचित्रको प्रदर्शनी गरिनेछ ।

आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटनलाई विभिन्न पक्षसँग जोडेर पर्यटकीय गतिविधिमा जोड दिन आवश्यक रहेको जनाउँदै अब पर्यटनलाई परम्परागत भन्दा नविनतम् सोचबाट पुनविचार गरेर अगाडि बढाउनु पर्ने रेवानका कार्यबहाक अध्यक्ष विश्व पौडेलले बताउनुभयो ।

सोही अवसरमा पोखरा पर्यटन परिषद्ले पनि ‘पोखरा अन्तराष्ट्रिय एयरपोर्ट र विश्व पर्यटन बजार’ विषयमा कार्यक्रम गर्न लागेको परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो । उहाँले पोखराको पर्यटनलाई विश्व बजारमा पुर्याउनका लागि छिमेकी मुलक भारतका विभिन्न शहरबाट १० जना पत्रकारलाई पोखरामा पर्यटकीय गन्तब्यको स्थलगत भ्रमण गराउने र अन्तर्राष्ट्रिय उडान गरेका एयरलाइन्सका ‘कन्ट्रि म्यानेजर’सँग अन्तरक्रिया गर्ने कार्यतालिका रहेको बताउनुभयो ।

उहाँका अनुसार अहिले करिब २४ एयरलाइन्सले अन्तराष्ट्रिय उडान गर्दै आएका छन् । तीमध्ये १० एयरलाइन्सका प्रतिनिधि कार्यक्रममा सहभागी जनाउने छन् । नेपालको आर्थिक विकासका लागि पर्यटनको महत्वपूर्ण योगदान रहेको जनाउँदै पर्यटन दिवसमा पोखराका पर्यटन सम्बद्ध सङ्घ–सङ्स्थाले पनि क्षेत्रगत रुपमा विभिन्न कार्यक्रम तय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button