
सुपथ मुल्यको सामान बेच्न सरकारले नै सञ्चालन गरेको साल्ट ट्रेडिङ कर्पोरेसनको गण्डकी प्रदेश कार्यालयले यो वर्ष नुन मात्रै बेच्ने भएको छ ।
ट्रेडिङका अन्य शाखाहरुले उपभोग्य सामग्री सस्तोमा बेचिरहेका बेला पोखराले भने नुनबाहेक अरु नबेच्ने भएको छ । दसैँ, तिहार र छठ पर्वका लागि हरेक वर्ष साल्ट ट्रेडिङले सुपथ सामग्री बेच्ने गर्छ । यसअघि खसीबोकादेखि चामलसम्म बिक्रि गरेको साल्ट ट्रेडिङले अहिले नुन मात्रै बेच्न लागेको हो ।
चिनी र अन्य सामान आयात नहुँदा नुन मात्रै बेच्न लागिएको कार्यालय प्रमुख वासुदेव उपाध्यायले जानकारी दिए । प्रत्येक ग्राहकले ६ किलोसम्म प्रति किलो १८ रुपैयाँका दरले नुन खरिद गर्न सक्ने उनले बताए । ‘पहिले सुपथ मुल्यका पसल चलाएका थियौं । अहिले नुन मात्रै आयात भयो । चिनी र अरु सामान आएन,’ उनले भने, ‘यो दसैँमा नुन मात्रै बेच्छौँ ।’
अघिल्लो वर्ष कार्यलयले प्रति ग्राहक ३ किलो नुन र ३ किलो चिनी बिक्री गरेको थियो । त्यसअघि चामल, गेडागुडी, नुन, तेल, चिनी, साबुनलगायत दैनिक उपभोग्य वस्तुहरु बिक्री गर्ने गर्थ्यो । बजारमा नै सामान सजिलै पाइने भएकोले आफुहरुले जोड नगरेको उनले बताए । चाडवाडमा बजारमा महँगो हुने भएकोले कर्पोरेसनले नै सामान बेच्दा उपभोक्ताको विश्वास पाएको उनले सुनाए ।





