राष्ट्रिय खेलकुदको उद्घाटनमा नै ३ करोड खर्च !

गण्डकी प्रदेशमा नेपाली खेलकुदको कुम्भमेला आज (शुक्रबार)बाट सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ भएसँगै उपराष्ट्रपति नन्दकिशोर पुनले नवौँ सुरु भएको घोषणा गर्नेछन् ।

कास्कीको पोखरा रंगशालाबाट नवौँ बृहत राष्ट्रिय खेलकुद महोत्सव औपचारिक रूपमा सुरु हुँदा कुल ६ हजार १ सय २ खेलाडीले ३६ खेलका इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । प्रतिस्पर्धामा ३ सय ९३ स्वर्ण, ३ सय ९३ रजत र ६ सय काँस्य पदकको छिनोफानो हुनेछ ।

सात प्रदेशका साथै तीन विभागीय टोलीहरु नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब तथा सशस्त्र प्रहरी बलको एपिएफसँगै अघिल्लो संस्करणदेखि थपिएको गैह्र आवासीय नेपाली संघ (एनआरएनए)को टोली गरि ११ टोलीले नवौँ राष्ट्रिय खेलकुदमा सहभागिता जनाएका छन् ।

पोखरामा दोस्रो पटक आयोजना हुने लागेको राष्ट्रिय खेलकुदलाई नेपाल सरकारले ८० करोड बजेट छुट्टाएको छ । उद्घाटन समारोहमा मात्रै तीन करोड खर्च हुने बताइएको छ । उद्घाटन सत्रमा सबै प्रदेशको संस्कृति झल्किने प्रस्तुति गर्ने बताएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका साथै स्थानीय १९ विद्यालयका विद्यार्थीले व्यावसायिक कलाकारलाई प्रस्तुतिमा साथ दिनेछन् । समारोहमा शिव परियार, रचना रिमाल, आनन्द कार्की र कुन्ती मोक्तानलगायतका लोकप्रिय कलाकारले गीत गाउने कार्यक्रम रहेको छ ।

२०७६ सालमा नेपालगञ्जमा आठौं राष्ट्रिय खेलकुदको समापनका अवसरमा २०७८ सालमा गण्डकी प्रदेशमा नवौँ संस्करण गर्ने घोषणाका साथ झण्डा हस्तान्तरण गरिएको थियो । तर, विभिन्न बाहना बन्दा प्रतियोगिता निर्धारित समयमा हुन सकेन ।

बृहत राष्ट्रिय खेलकुदमा प्रदर्शनी सहित ३८ खेल हुँदै गर्दा पुरुष क्रिकेट अघिल्लो महिना नै काठमाडौंमा सकिसकेको छ । यसैगरी महिला क्रिकेट, फुटबल, हक्की, ह्यान्डबल, बुद्धिचाल र फेन्सिङका खेलहरु सुरु भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button