
राष्ट्रिय खेलकुदको प्याराग्लाइडिङ प्रतिस्पर्धाका क्रममा एक जनाको मृत्यु भएपछि नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)ले प्याराग्लाइडिङमा प्रतिबन्ध लगाएको छ ।
आज पोखराको सराङकोटमा नवौँ राष्ट्रिय खेलकुदअन्तर्गतको प्याराग्लाइडिङ प्रतिस्पर्धामा सहभागी एक खेलाडीको प्रतियोगिता दौरान नै दुर्घटनामा मृत्यु भएपछि क्यानले खेलमाथि नै अनिश्चितकालसम्म रोक लगाएको हो । प्याराग्लाइडिङ सञ्चालनका लागि आवश्यक संरचना, सुरक्षाका मापदण्ड तथा अन्य कानुनहरु बनेपश्चात मात्रै प्याराग्लाइडिङ सुचारु गरिने क्यानका अधिकारीहरुले बताएका छन् ।
आज दिउँसो करिब १२:४५ बजे भएको प्याग्लाइडिङ दुर्घटनामा गोरखा घर भएका नेपाली सेनाका खेलाडी निसिम थापाको मृत्यु भएको थियो । टेकअफ पछि करिब ५० मिटर माथि पुगेका निसिमको ग्लाइडर नखुलेपछि तल बन्दै गरेको अपार्टमेन्टमा बजारिन पुगेका थिए । उनलाई मेट्रो हस्पिटल लगिएपनि अस्पतालमा मृत घोषित गरिएको थियो ।





