
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सफ्ट टेनिस प्रतियोगितामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको एपीएफ क्लबले स्वर्ण पदक जितेका छन् । पोखरामा जारी प्रतियोगितामा मंगलबार भएको सफ्ट टेनिसको डबल्सतर्फका खेलमा प्रहरी र एपीएफले एक-एक स्वर्ण पदक जितेका हुन् ।
पुरुष युगल तर्फ नेपाल पुलिसका नरबहादुर लुङ्गेली र कमल भण्डारीको जोडीले प्रदेश नं. १ का युकेश योञ्जन र आशिष बोहराको जोडीलाई ५-३ को सेटले पराजित गर्दै स्वर्ण जिते । फाइनलमा पराजित प्रदेश नं. १ का युकेश योञ्जन र आशिष बोहराको जोडीले रजत पदक प्राप्त गर्दा बागमती प्रदेशका प्रदीप खत्री र बृजेश पाण्डेको जोडी र गण्डकी प्रदेशका शक्ति शर्मा र धर्मबहादुर लामिछानेको जोडीले काँस्य पदकमा चित्त बुझाए ।
यस्तै महिलातर्फ एपीएफले स्वर्ण पदक जित्यो । एपीएफका भगवती वि.क. र समृद्धि महर्जनको जोडीले एपीएफलाई स्वर्ण पदक दिलाएका हुन् । उक्त जोडीले लुम्बिनी प्रदेशका ऋतिका चौधरी र विमला पन्थीको जोडीलाई ५–० को सोझो सेटले पराजित गर्दै स्वर्ण पदक दिलाए ।
पराजित लुम्बिनी प्रदेशका ऋतिका र विमलाले रजत पदक प्राप्त गरे । सो स्पर्धामा प्रदेश १ की श्रेया योञ्जन र श्रेया राईको जोडी तथा नेपाल प्रहरीका विष्णा भण्डारी र सिसम चन्दको जोडीले काँस्य पदक प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत आजै मिक्स डबल्सका खेलहरु पनि भइरहेका छन् ।





