
पोखरा महानगरपालिकाले फेन्सी पसलमा अनुगमन गरेको छ । पोखरा महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा शुक्रबार महानगरको टोलीले फेन्सी पसलमा अनुगमन गरेको हो ।
अनुगमनमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, आन्तरिक राजस्व कार्यालय पोखराका ठाकुर सुवेदी, घरेलु कार्यालय पोखराका हेमराज बराल, जिल्ला प्रशासन कार्यालय कास्कीका शिवप्रसाद गौतम, पोखरा महानगर उपभोक्ता हित संरक्षण समितिका सदस्यसचिव भरतराज पौडेल, महानगर सहकारी शाखाका ऋषिराम सापकोटा र पत्रकारहरुको सहभागिता रहेको थियो । पोखरामा खाद्यान्न, तरकारी, फुलफुल होटल लगायतका क्षेत्रमा अनुगमन भएपनि फेन्सी पसलमा भने पहिलो हो ।
फेन्सी पसलमा ग्राहकहरु ठगिएको गुनासो आउने गरेको भन्दै अनुगमन गरिएको महानगरपालिका उपोक्ता हित संरक्षण समितिका सदस्यसचिव भरतराज पौडेलले जानकारी दिनुभयो । अनुगमनका क्रममा दर्ता विना सञ्चालन भएका, दर्ता भएपनि नवीकरण नभएका पसलहरु भेटिएको तथा पसलहरुमा खरिद बिल नभएको पनि फेला परेको सदस्यसचिव पौडेलले बताउनुभयो । उनले भने, ‘केही पसल महानगर, घरेलु, आन्तरिक राजस्व कार्यालयमा दर्ता नभएको पाइयो ।’
अनुगमनका क्रममा टोलीले पोखरा ट्रेड मलभित्र सञ्चालित दुई पसललाई जरिवानासमेत गरेको छ । ग्लोजम कुर्था पसल र सुस्मीन एण्ड सुशान्त स्टोर्सलाई पाँच-पाँच हजार रुपैयाँ जरिवाना गरेको हो । ग्लोजममा कपडा खरिद बिल नभएको र बिना दर्ता सञ्चालन भएको भेटिएपछि जरिवाना गरिएको महानगरका सहकारी शाखाका ऋषिराम सापकोटाले जानकारी दिनुभयो ।
त्यस्तै सुस्मीन एण्ड सुशान्त स्टोर्समा बिल काट्दा बीचमा बिल छुटाएर काटेको, व्यवसाय नवीकरण नगरेको र ग्राहकलाईसमेत बिल नदिएको पाइएकाले जरिवाना गरिएको सापकोटाले जानकारी दिनुभयो । त्यस्तै सलोनी इम्पोरियम, जिएलके क्लोसेट क्लाउड, एनडी सपिङ्ग सेन्टरमा खरिद बिल नभएको, व्यवसाय दर्ता नभएको पाइएकाले उनीहरुलाई खरिद र बिक्री बिलसहित जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित हुन निर्देशन दिइएको उपभोक्ता हित संरक्षण समितिका सदस्यसचिव भरतराज पौडेलले बताउनुभयो ।
यता पोखराको चिप्लेडुंगामा सञ्चालित यूएफओमा खरिद बिल नभएको भेटिएकाले जिल्ला प्रशासन कार्यालय कास्की बोलाइएको छ । पोखरा महानगरका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङले फेन्सी पसलमा अनुगमन गरेको बताउदै भन्नुभयो, ‘व्यवसायीले खरिद बिल नलिने र बिक्री बिल पनि नदिने गरेको भेटियो ।सबै व्यवसायीको समस्या एउटै देखियो । यो समस्या समाधान गर्न सरोकारवाला निकायसँग बसेर छलफल गछौँ ।’
जिल्ला प्रशासन कार्यालय कास्कीका शिवप्रसाद गौतमले काठमाडौँबाट ल्याउने सामानको बिल कम जारी गर्ने र महँगोमा बिक्री गर्ने गरेको पाइएको बताउनुभयो । उहाँले कम बिल जारी गर्ने र महँगोमा बिक्री गर्ने समस्या सबै व्यवसायीकोमा देखिएकाले यस बारे छुटटै छलफल गरेर दीर्घकालिन रुपमा समाधान गर्नुपर्ने देखिएको बताउनुभयो ।
पोखरा महानगरले दशैँअघि पोखरामा सञ्चालिन मासुपसल, खाद्यान्न र दशैँलाई लक्षित गरे बिक्रीका लागि बाहिरी जिल्लाबाट ल्याइएका च्याङ्ग्राको अनुगमन गरेको थियो ।





