पोखरा महानगरले पार्किङ प्रयोजनका लागि खाली जग्गा भाडामा लिने

पोखरा महानगरले पार्किङ प्रयोजनका लागि मुख्य सडक आसपासका खाली जग्गा भाडामा लिने भएको छ ।

महानगरले आज एक सुचना जारी गर्दै न्युरोडलगायत मुख्य सडक आसपासमा घरजग्गा पार्किङ प्रयोजनका लागि भाडामा दिन इच्छुक जग्गाधनीलाई निवेदन दिन आग्रह गरेको हो । इच्छुक जग्गाधनीले निवेदनपत्र, जग्गाधनी दर्ता पुर्जाको प्रमाणपत्र, जग्गाको नापी नक्सा, जग्गा धनीको नागरिकताको छाँयाप्रतिसहित आवेदन दिन सक्ने महानगरले बताएको छ ।

निवेदन पत्रमा अपेक्षित भाडा पनि उल्लेख गर्नुपर्ने महानगरले जनाएको छ । अबको ३० दिनभित्रमा इच्छुकले आवेदन दिन सक्नेछन् । पोखरा महानगरका मुख्य सडक क्षेत्रमा डेडिकेटेड पार्किङको अभावमा सवारीसाधनहरु सडकमा नै पार्किङ हुने गरेका छन् ।

सडकमा महानगरले ठेक्का नै लगाएर सशुल्क पार्किङ सञ्चालन गर्ने गरेको छ । सवारी कर तिर्दा सडक दस्तुर भनेर तिर्दै आएका सर्वसाधारणले पार्किङका लागि पनि सोही सडकमा थप शुल्क लाग्दा दोहोरो शुल्क तिर्न परेको भन्दै गुनासो गर्दै आएका छन् ।

पछिल्लो स्थानीय तह निर्वाचनमार्फत निर्वाचित भएका महानगरका मेयर धनराज आचार्यले पार्किङ शुल्क हटाउने बताए पनि अहिलेसम्म महानगरका सडकमा पार्किङ शुल्क भने उठिरहेकै छ । महानगरले गत मंसिर १४ मा सडक पार्किङका लागि ठेकेदार कम्पनी फेवा सावित्री जेभीसँग ३ करोड १६ लाख ७० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button