
आजको पात्रो : आज कात्तिक २२ गते २०७९ साल, मंगलबार । नोभेम्बर महिनाको ८ तारिख २०२२ । कार्तिकशुक्लपक्ष पूर्णिमा तिथि, आज चन्द्रग्रहण पनि लाग्दैछ । आज बिहान सूर्योदय ६ः१९ मा भयो भने सूर्यास्त ५ः१७ मा हुनेछ । बब करण, भरणी नक्षत्र, व्यातिपात योग, चन्द्रमा मेष राशिमा रहेको छ ।
मंगलबार गणेश र हनुमानको साधनामा लाग्नु उत्तम हुनेछ । पूर्णिमा तिथि र ग्रहण समेत परेको हुनाले आजको दिन ध्यान, तप, योग र साधना गर्दा उत्तम फल प्राप्त हुनेछ । बिहान ११ः२६ देखि १२ः०९ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समय आजको सबैभन्दा उत्तम समय रहेको छ ।
आज बिहान ८ः११ बजेदेखि चन्द्रग्रहणको सुतक समय शुरु हुन्छ । ग्रहण शुरुवात साँझ ५ः११ देखि भई साँझ ६ः३४ सम्म कायम रहनेछ । एक घण्टा २३ मिनेटसम्म ग्रहण लाग्नेछ । आज बिहान ८ः११ भन्दा अगाडि नै भोजन गर्नुपर्छ । सुतकको समयमा भोजन निषेध गरिएको छ । बालक, बृद्ध, असक्त र बिरामीको लागि भने दोष लाग्दैन ।
आजको राशिफल :
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) – मेष राशिका जातकका लागि हरेक मंगलबार मनमा प्रसन्नता छाउने छ । धनलाभ र विजय प्राप्त हुनेछ । व्यापार व्यवसायबाट पनि लाभ मिल्नेछ । दैनिक उपभोगबाहेक विलासिताको सामान खरिद नगर्नुहोला । चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नुहोला । आजको दिन विशेष साधना गर्नु उत्तम हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) – अध्ययन अनुसन्धानमा रुचि बढ्ने छ । अध्यात्म शास्त्रका पुस्तक खरिद गर्दा रुचि बढ्न सक्छ । आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने कष्टकर हुनेछ । यात्रा गर्नै पर्ने छ भने पूर्वदिशा तर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला । आजको दिन जप, ध्यानमा समय खर्चनु होला । आज खर्च हुने सम्भावना बढी छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) – मिथुन राशिका जातकका लागि आजको दिन निकै शुभ रहेको छ । व्यापार व्यवसायमा रहेका साझेदारसँग फाइदा हुनेछ । आजको दिन काम गर्दा गणेशको आराधना गरेर काम गर्नुभयो भने काममा सफलता मिल्नेछ । आज मिथुन राशिका जातकहरुले नयाँ काम गर्न सक्नुहुनेछ । आजको दिन सफलता प्राप्ति हुनेछ । कसैसँग अनावश्यक विवाद हुने काम नगर्नुहोला ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) – आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा तपाईप्रति विरोध गर्नेले सम्मानका शब्द प्रयोग गर्नेछन् । आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला । परिवारमा साना साना कुरामा विवाद हुनसक्छ । विवाद हुँदा हानी हुनेछ । आजको विवाद हुने काम नगर्नुहोला । सुख प्राप्त हुने सम्भावना छ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) – सिंह राशिका जातकका लागि आजको दिन मौन रहनु हित हुनेछ । घरपरिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । विश्वास गरेको मित्रबाट दुःख र धोका हुनसक्छ । आजको दिन बिहान गणेश वा हनुमानको मन्दिरको दर्शन गर्नाले उर्जा मिल्नेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) – परिवार र दाम्पत्य जीवनमा सुख, समृद्धि हुनेछ । मंगलबार कुनै नयाँ काम शुरुवात र मानसम्मान मिल्न सक्छ । व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन उपहार साटासाट गर्दा फाइदा हुनेछ । बालक र वृद्धहरुलाई केही खानेकुरा दिनु उत्तम हुनेछ । आजको दिन कष्टदायी छ । मौन रहनु उत्तम हुनेछ ।
तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) – दिन त्यति अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च बढ्नेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । तपाईले सोचअनुसार काम नहुँदा मनमा अनेक चिन्ता छाउने छ । त्यसैले आजको दिन सकारात्मक सोच राख्नुहोला । यात्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी हुनेछैन । आजको दिन महिलाहरुसँग वादविवाद नगर्नुहोला ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) – व्यापार व्यवसायबाट लाभ हुने देखिन्छ । आजको दिन मित्रहरुसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा छिटो सम्पन्न हुनसक्छ । परिवारका सदस्यसँग र आफन्तसँग विवाद हुनसक्छ त्यसैले सोचविचार गरेर काम गर्नुहोला । नयाँ सम्भावना र सुख प्राप्तिको योग रहेको छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) – तपाईलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईलाई सकारात्मक उर्जा प्राप्त हुनेछ । आज चन्द्रमाको साथ रहेकाले तपाईको सोचेअनुसार काम हुनेछ । अध्ययन अध्यापन, लेखनमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा तपाईको आजको सफलता मिल्नेछ । तपाईलाई परेका अपठ्याराहरुका समाधानका बाटा खुल्दै जानेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) – मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईले आज आफ्नो बसोबास भएको स्थानमा रहेको मठ मन्दिर दर्शन गर्दा तपाईले उत्प्रेरणा प्राप्त गर्नसक्नुहुन्छ । मकर राशिका जातकले हरेक साता मंगलबार गणेश मन्दिरमा दर्शन गर्नाले तपाईको ग्रहदोष कम हुनेछ । आजको दिन ध्यान गर्नु, मौन रहनु होला ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) – व्यापार व्यवसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन तपाईले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ । आर्थिक कारोबारमा समस्या हुनसक्छ । त्यसैले आजको दिन विवाद नगरी नियमित काम गर्नुहोला । नयाँ काम गर्नुभन्दा पहिले सोच विचार गरेर मात्र गर्नु बेस हुनेछ । आजको दिन श्रीप्राप्ति हुनेछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) – मीन राशिका जातकका लागि मंगलबार बिहान उठेर सूर्योदयको दर्शन र नजिकैको गणेश मन्दिरको दर्शन गरेर काम गर्दा सफलता प्राप्त हुन्छ । अध्ययन अध्यापनको क्षेत्रमा सोचेभन्दा बढी सफलता मिल्नेछ । सेवामूलक काम गर्नुभयो भने समाजबाट मानसम्मान मिल्नेछ । तपाईको आजको दिन हानि हुने सम्भावना छ । सर्तक भएर कार्य गर्नु होला ।





