स्याङ्जामा चितुवाको आक्रमणबाट तीन घाइते

चितुवाको आक्रमणबाट स्याङ्जामा तीन जना घाइते भएका छन् ।

वालिङ नगरपालिका १४ कफ्लेटीमा चितुवाको आक्रमणबाट आज बिहान ९ः१५ बजेको समयमा दुई महिला र एक पुरुष घाइते भएका हुन् । वालिङ १४ का वडाध्यक्ष बोधराज कुँवरका अनुसार वालिङ १२ का किसान न्यौपाने, वालिङ १४ की तुलसा पराजुली र लक्ष्मी पराजुली घाइते हुनुभएको हो ।

कफ्लेटीस्थित खेतमा काम गरिरहेको अवस्थामा न्यौपानेलाई घाइते बनाएर भागेको चितुवा स्थानीय चण्डीप्रसाद पराजुलीको घरमा पसेको र भित्र जाँदा तुलसा र लक्ष्मी घाइते हुनुभएको हो । घाइते हुनुभएकी तुलसाको अनुहारमा गहिरो चोट लागेको छ ।

न्यौपानेको छाती तथा पाखुरामा चोट छ भने लक्ष्मीको पाखुरामा चोट लागेको छ । घाइते तीनै जनालाई उपचारका लागि प्राथमिक अस्पताल वालिङमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको अस्पतालका वरिष्ठ ल्याब अधिकृत ईश्वर कोइरालाले जानकारी दिनुभयो ।

चितुवालाई घरभित्रै थुनेर नियन्त्रणमा राखिएको छ । अहिले उक्त ठाउँमा स्थानीयवासी, प्रहरी र इलाका वन कार्यालय वालिङबाट टोली पुगेको छ । चितुवालाई नियन्त्रणमा लिने तयारी गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button