पोखराको औद्योगिक व्यापार मेला औचित्यहीन रहेको भन्दै तीव्र आलोचना

शुब्रत ढकाल, १७ मंसिर । पोखरामा शुक्रबारदेखि शुरु भएको समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ को तीव्र आलोचना भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश तथा पोखरा उद्योग वाणिज्य संघको संयुक्त रूपमा आयोजना गरेको महोत्सव दर्शकको आँखामा छारो हालेर पुरातन शैलीमा गरिएको भन्दै आलोचना गरिएको हो ।

मेलाको उद्घाटन कै दिन मेला स्थलमा पुगेका पोखरा उद्योग वाणिज्य संघका पूर्व पदाधिकारी, संघका सदस्य, पत्रकार र अवलोकनका लागि पुगेका दर्शकले यस्तो खालको मेलाको औचित्य सकिएको भन्दै प्रतिक्रिया दिएका छन् । शुक्रबार मेला अवलोकनका लागि पुगेका धेरैले आयोजकले मेलाका नाममा झारा टार्ने काम गरेको, स्थानीय व्यापार प्रवर्द्धन गर्ने खालका स्टलहरू नरहेको, दर्शक तथा उपभोक्ताको ध्यान तान्ने खालका गतिविधि मेलामा नरहेको भन्दै गुनासो व्यक्त गरे ।

“लगानीको संवर्द्धन : उद्योग व्यवसायको प्रवर्द्धन” भन्ने मूल नाराका साथ आयोजना भएको मेला बारे सुझाव राख्दै संघका निवर्तमान उपाध्यक्ष समेत रहेका अर्जुन पोखरेलले यस्तो मेलाले पोखराको प्रवर्द्धन नहुने तर्क व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा नेतृत्वलाई सुझाव भन्दै उनले निजी क्षेत्रले परिवर्तन आवश्यक ठानेकोले यस्तो खालको पुरातन शैलीको मेला संघले गर्न नहुने बताएका छन्।

उनले उद्घाटन कै दिन दर्शकको उपस्थिति नरहेको र मेलाको सजावट,तयारी र शैलीबारे नेतृत्वलाई प्रश्न गर्दै लेखेका छन्, ‘आलोचना हैन, नेतृत्वलाई सुझाव मात्र । बाटोमा स्वागत गेटको अवस्था ? उद्घाटन शत्र ५ घण्टा लामो ? सजावट बेलुन बाट ? प्रमुख अतिथि बोल्दा ३७ जना दर्शक दीर्घामा? के पोखराको निजी क्षेत्रले खोजेको परिवर्तन यस्तै हो त? के अब पनि यस्तो मेलाले पोखराको प्रवर्द्धन होला त?? यस्तो प्रकारको मेला अब पोखरा उद्योग वाणिज्य संघको नेतृत्वले गर्ने हो त? मेरो चुनावी प्रतिबद्धतामा यस्तो पुरातन शैलीको मेला आयोजना गर्ने बुँदा नै थिएन परिवर्तन आवश्यक छ, निजी क्षेत्रको भूमिका र महत्त्व बुझौँ ।’

पोखरेल सम्मानित संघ र समुन्नत व्यवसायको नारा लिएर पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनमा अध्यक्ष पदमा भिडेका थिए ।

मेला प्रति प्रतिक्रिया जनाउँदै पोखराका पत्रकार सुशन घिमिरेले मेलाको ट्रेण्ड फेरिनुपर्ने उल्लेख गरेका छन् । ‘ट्रेन्ड फेरिन आवश्यक छ । बर्सेनि उहीँ कलाकार उहीँ शैली । महोत्सव आयोजना गर्नु मात्रै ठूलो कुरा होइन खस्कँदो साख जोगाउन सक्नु पोखरामा आयोजना हुने हरेक महोत्सवको चुनौती हो’, घिमिरेले लेखेका छन् । त्यस्तै फोटो पत्रकार युनिश गुरुङले यो मेलाको काम नभएको प्रतिक्रिया दिएका छन् । उनले एक शब्दमा लेखेका छन्, ‘यस्तो खाले मेला गरेर काम छैन ।’

मेला अवलोकनका लागि पुगेका लेखनाथ बुढीबजारका सन्तोष पौडेलले मेलामा एक दुई स्टल बाहेक उल्लेखनीय केही नरहेको प्रतिक्रिया दिए । मेला शुरु हुनु अगावै सबै स्टल बुक भए भनेर समाचारमा सुनेको भए पनि शुक्रबार दिउसो अधिकांश स्टल खाली रहेको पौडेलले बताए । ‘लामो समयपछि आयोजना गरिएको मेला राम्रै होला भन्ने लागेर आएका थियौ । प्रचार गरिएअनुसार केही पनि रहेनछ । प्राय स्टल दिउसो सम्म खाली नै छन् । यस्तै हो भने दर्शकहरू निराश हुन्छन्’, पौडेलले भने ।

मेलामा दर्शक भन्दा मञ्चमा बढी मान्छे देखिएको, आफ्नै सदस्य तथा उद्योगी व्यवसायीहरूलाई मेला बारे जानकारी नगराएको, मेलाको नाममा लुट मात्र गर्न खोजेको जस्ता आरोप दर्शक, सर्वसाधारण तथा व्यवसायीले लगाएका छन् ।

मंसिर २५ गतेसम्म सञ्चालन हुने मेलाको शुक्रबार गण्डकी प्रदेशका सञ्चार,कानून तथा प्रदेशसभा मामिला मन्त्री एवम् पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विन्दुकुमार थापाले उद्घाटन गरेका थिए । मेलामा सर्वसाधारणको लागि एक सय र विद्यार्थीको लागि ६० रुपैयाँ प्रवेश टिकट कायम गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button