विश्वकप फुटबलको क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड भिड्ने

अमेरिका र अस्ट्रेलिया बाहिरिए

गएराति भएका आ-आफ्ना खेलमा जीत निकाल्दै अर्जेन्टिना र नेदरल्यान्ड विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

हिजो भएको पहिलो खेलमा नेदरल्यान्डले अमेरिकालाई ३-१ गोल अन्तरले पराजित गर्यो । नेदरल्यान्डको अपराजित यात्रालाई १९ खेलसम्म पुर्याउन मेम्फिस डिपेले खेलको १० औं मिनेट मै टोलीलाई अग्रता दिलाए । पहिलो हाफको अतिरिक्त समयमा डेले ब्लिन्डले दोस्रो गोल गर्दै नेदरल्यान्डको अग्रता दोब्बर पारे ।

खेलको ७६ औं मिनेटमा अमेरिकाका हाजी राइटले गोल गर्दै टिमलाई खेलमा फर्काउन प्रयत्न गरे पनि नेदरल्यान्डका डेन्जेल डम्फ्रीजले ८१ औं अर्को गोल गरे र खेल नेदरल्यान्डले ३-१ ले जित्न सफल रह्यो । डिफेन्समा चुस्त रहन नसक्दा अमेरिकाको हार भएको अमेरिकन प्रशिक्षकको प्रतिक्रिया थियो ।

यता हिजै राति अबेर भएको दोस्रो प्रि क्वाटरफाइनलमा अर्जेन्टिनाले अस्ट्रेलियालाई २-१ ले हरायो । अहमद बिन अलि रङ्गशाला भएको खेलमा अर्जेन्टिनाका लागि उसका स्टार खेलाडी लियोनेल मेस्सीले अग्रता दिलाएका थिए । मेस्सीले खेलको ३५ औं मिनेटमा आफ्नो ट्रेडमार्क देब्रे खुट्टाले गोल गरेका थिए । त्यसपछि खेलको ५७ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे ।

खेलको अन्तिम २० मिनेटमा भने अस्ट्रेलियाले लगातार आक्रमण बुन्दा अर्जेन्टिनाको रक्षापंक्ति दबाबमा परेको थियो । ७७ औं मिनेटमा अर्जेन्टिनाका एन्जो फर्नान्डेजले आत्मघाती गोल गरेपछि अस्ट्रेलियाका खेलाडीले अझै मौका बनाएका थिए । तर खेलमा त्यसपछि भने कुनै गोल हुन सकेन र २-१ गोलअन्तरले अर्जेन्टिनाले खेल जित्न सफल भयो ।

अब आउँदो शनिबार कतारको लुजेल रङ्गशालामा अर्जेन्टिना र नेदरल्यान्ड आमनेसामने हुनेछन् । त्यस्तै आज राति हुने पहिलो प्रिक्वाटरमा फ्रान्सले पोल्यान्डको सामना गर्नेछ भने दोस्रो खेलमा इङ्ल्यान्ड सेनेगलसँग खेल्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button