फ्रान्सलाई टाइब्रेकरमा ४-२ ले हराउँदै अर्जेन्टिनाले जित्यो विश्वकप फुटबल

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले फ्रान्सलाई टाइब्रेकरमा हराउदै तेस्रो पटक विश्वकप फुटबलको उपाधि उचालेको छ । अर्जेन्टिनाले ३६ वर्षको लामो पर्खाई पछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि जितेको हो ।

कतारको दोहास्थित लुसेल रङ्गशालामा आज भएको २२औँ संस्करणको फाइनल खेलमा अर्जेन्टिनाले फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गरेको हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा दुई पटक उपाधि जितिसकेको छ । अर्जेन्टिना विश्वपकपको समूह चरणको पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएपनि प्रतियोगितामा जोडदार पुनरागमन गर्दै उपाधि उचाल्न सफल भयो ।

खेलको २३औं मिनेटमा अर्जेन्टिनाका खेलाडी लियोलन मेस्सीले पेनाल्टीमार्फत् गोल गर्दै अग्रता दिलाए । पेनाल्टी क्षेत्रभित्र फ्रान्सका ओस्मान डेम्बेलेले अर्जेन्टिनाका एन्जल डि मारियालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । जसको सदुपयोग गर्दै मेस्सीले गोल गरेका थिए । खेलको ३६औँ मिनेटमा डि मारियाले अर्जेन्टिनाका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । मारियाले पेनाल्टी एरियाबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।

त्यसपछि भने खेलको ८०औँ मिनेटमा फ्रान्सका लागि केलियन एमबाप्पेले पेनाल्टीमा गोल गरेका थिए भने त्यसको एक मिनेट नबित्दै एमबाप्पेले अर्को गोल गर्दा खेल बराबरीमा पुगेको थियो । खेलको निर्धारित समयसम्म दुई–दुई गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

अतिरिक्त समयमा पुगेको खेलमा अर्जेन्टिनाका लागि १०९औँ मिनेटमा मेस्सीले गोल गरे । लौटारो मार्टिनेजले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलरक्षक लोरिसले बचाए पनि रिबाउन्डमा मेस्सीले गोल गर्न सफल भए भने अतिरिक्त समयको ३ मिनेट बाँकी रहँदा फ्रान्सका लागि केलियन एमबाप्पेले आफ्नो ह्याट्रिक पुरा गर्दै पेनाल्टीमा गोल गरे र खेल ३–३ को बराबरीमा पुग्यो ।

अतिरिक्त समयमा दुवै टोलीले एक–एक गोल गरेपछि खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा गोलरक्षक इमिलियानो मार्टिनेज चम्किदा अर्जेन्टिना उपाधि जित्न सफल भयो । अर्जेन्टिनाका लागि लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरे ।

उपविजेता फ्रान्सका लागि भने किलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे भने किन्सले कोम्यान र अरुलिन चुवामेनी गोल गर्नबाट चुके । यसअघि फ्रान्स सन् १९९८ र २०१८ मा विजेता बनेको थियो । प्रतियोगितामा सबैभन्दा धेरै आठ गोल गरेका फ्रान्सका केलियन एम्बाप्पेले गोल्डेन बुट पाए ।

एम्बाप्पेले प्रतियोगिताका सात खेलमा आठ गोल गरेका थिए । उनले अर्जेन्टिनाका लियोनल मेस्सीलाई पछि पार्दै गोल्डेन बुट पाएका हुन् । अर्जेन्टिनाका लियोनल मेस्सीले सात खेलमा सात गोल गरेका थिए । साथै अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेज उत्कृष्ट गोलरक्षक भए भने ‘योङगेष्ट प्लेयर’ एन्जो फर्नान्डेज भए ।

अर्जेन्टिना यसअघि सन् २०१४ मा पनि फाइनल पुगेको थियो । उक्त फाइनलमा अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button