बागलुङको टुनिबोटमा पहिलो पटक मोबाइल सेवा पाउँदा स्थानीय खुसी

थम्मन थापा/बागलुङ, २ जेठ । चारैतिर अग्ला पहाड अनि खोँचमा रहेको छ टुनिबोट गाउँ, भिमगिठे खोलाको नदी छेउमा रहेको उक्त बस्तीमा यसअघि मोबाइल सेवा नहुँदा त्यहाँका नागरिकलाई समस्या हुँदै आएको थियो ।

गाउँदेखि माथि भित्रेनी डाँडामा नेपाल टेलिकमले टावर निर्माण गरी नमस्ते मोबाइल सेवा सुचारु गरेपछि अहिले स्थानीयवासी खुसी भएका छन् । मोबाइल सेवा सञ्चालन भएपछि बडिगाड गाउँपालिका वडा नं ७ भिमगिठेको टुनीबोट सँगै अमिले, जैबाने, भित्रेनी, छेपारे, ओखरेनी, पदमभीर र वडा नं ८ को दोभान सीमा क्षेत्रका झण्डै २ सय ५० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।

सदरमुकाम बागलुङ बजार देखि ८२ किलोमिटर पश्चिम उत्तरमा अवस्थित उक्त गाउँमा यस अघि कुनै पनि मोबाइल सेवा उपलब्ध थिएन । मोबाइल सेवा नहुँदा सूचना र सञ्चारमा त्यहाँका नागरिकले सास्ती खेप्दै आइरहेको बडिगाड गाउँपालिका वडा नं ७ का निवर्तमान वडा अध्यक्ष कृष्ण गुरुङले बताए ।

स्थानीय लघु जलविद्युतबाट टावर सञ्चालन भएपछि अहिले जिएसएम मोबाइल सेवा टुजी र तेस्रो पुस्ताको मोबाइल सेवा थ्रीजी एकैसाथ सञ्चालन गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ इन्जिनियर केशव शर्माले जानकारी दिए । सेवा सुचारु भए सँगै मोबाइल प्रयोगकर्ताले भ्वाइस र डाटा चलाउन पाएको कार्यालय प्रमुख शर्माको भनाई छ । निकट भविष्यमा उक्त टावर मार्फत चौथो पुस्ताको मोबाइल फोरजी सेवा उपलब्ध गराइने शर्माले बताए ।

पहिले फोन गर्न छिमेकी गाउँ र भिमगिठे बजार नै पुग्नुपर्ने त्यहाँका स्थानीयको बाध्यताको अन्त्य भएको स्थानीय विमल पाइजाको भनाइ छ  । टावर निर्माण, उपकरण टावर सम्म पुर्‍याउन स्थानीयले सहयोग गरेका थिए ।

टुनिबोटमा मोबाइल सेवा सञ्चालन गर्न गाउँपालिकाले आवश्यक समन्वय र सहजीकरण गरेको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापाले बताए। गाउँपालिका अध्यक्ष थापाले मोबाइल र तीव्र गतिको इन्टरनेट सेवाले दुर्गम टुनिबोट र आसपासका नागरिकको दैनिकी सहज बनेको बताए । उनले गाउँपालिकाका सबै वडामा गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउन टेलिकमसँग आवश्यक समन्वय गरिने समेत उल्लेख गरे ।

पहिलो पटक मोबाइलमा कुराकानी गर्दै इन्टरनेट चलाउन पाउँदा वडावासी नागरिकहरू खुसी भएको बडिगाड गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष दीपेन्द्र प्रताप केसीले बताए ।

नेपाल टेलिकमले बडिगाड गाउँपालिका वडा नं ९ दर्लिङ नयाँ गाउँमा रहेको टावरबाट रेडियो लिङ्कमार्फत त्यहाँ टुजी र थ्रीजी सेवा सञ्चालन गरेको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button