गण्डकी प्रदेशस्तरीय साइन्स फेस्टिभलमा सैनिक आवासीय महाविद्यालय प्रथम

गण्डकी प्रदेशस्तरीय साइन्स फेस्टिभल सम्पन्न भएको छ । हिमालयन साइन्स फाउन्डेसनको आयोजना र विज्ञान शिक्षक समाज गण्डकी प्रदेशको सहआयोजनामा पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा विज्ञान महोत्सव २ दिनसम्म चलेको थियो ।

प्रतियोगिता कै ढाँचामा आयोजित उक्त फेस्टिभलमा पोखराको सैनिक आवासीय महाविद्यालयको प्रोजेक्ट प्रथम भएको छ । यस्तै, पोखराको सृजना सेकेन्डरी स्कुल दोस्रो र गण्डकी बोर्डिङ स्कुल तेस्रो भए । सान्त्वना हुनेमा जनज्योति माध्यमिक विद्यालय तनहुँ, नमुना आवासीय माध्यमिक विद्यालय पर्वत, शिशु निकेतन सेकेन्डरी स्कुल र कालिका माध्यमिक विद्यालय पोखरा रहेका छन् ।

उनीहरुलाई गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री माननीय सुशीला सिंखडाले पुरस्कार वितरण गरिन् । प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयहरूले काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउने अवसर पाउने आयोजकको भनाई छ । यसैबीच, सो अवसरमा राजकुमार ढकाललाई ‘उत्कृष्ट विज्ञान शिक्षक २०७९’ को रुपमा सम्मान तथा पुरस्कृत गरिएको छ । विज्ञान शिक्षक समाज नेपाल र नेपाल बौद्धिक समुदायले गण्डकी बोर्डिङका विज्ञान शिक्षक राजकुमार ढकाललाई उक्त सम्मान प्रदान गरेको हो । स्याङ्जाका ढकाल विज्ञान शिक्षक समाज गण्डकी प्रदेश संयोजक समेत हुन् ।

फेस्टिभलमा विभिन्न विद्यालयको प्रतिनिधित्व गर्दै विद्यार्थीले बनाएका प्रोजेक्टको ५० स्टल राखिएका थिए । तीमध्ये २६ स्कुलका ४० प्रोजेक्ट थिए भने बाँकी प्रतियोगितामा सहभागी थिएनन् । पोखरामा पहिलोपल्ट आयोजित सो फेस्टिभलको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए ।

पोखरामा आयोजित फेस्टिभलले शैक्षिक गुणस्तरियतामा प्रभावकारी कदम चाल्ने विश्वास मन्त्री सिंखडाको छ । उनले गण्डकी प्रदेशका लागि नौलो कार्यक्रम भएकाले यसको निरन्तरताको आवश्यकतालाई औंल्याउँदै उनले सरकारले नै यस्ता कार्यक्रमको आयोजना गर्नुपर्नेमा नीजि क्षेत्रबाट भएका कार्यक्रमलाई प्रोत्साहित गर्नुपर्ने बताइन् ।

फेस्टिभलको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अहिलेको युग विज्ञान प्रविधिको युग भएकाले सरकारको नीति तथा कार्यक्रम समेत प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए । उनले पोखरा महानगरपालिका पनि डिजिटल महानगरका रुपमा अगाडि बढेको जानकारी गराए ।

फेस्टिभलका संयोजक हिमालयन साइन्स फाउन्डेसनका अध्यक्ष आंतक बस्नेतले विद्यालयमा विज्ञान विषयको पढाईमा फरकपन आउनुपर्ने उल्लेख गरे । उनले घोकन्ते विद्याले मात्र विद्यार्थीको शैक्षिक स्तरमा सुधार नहुने हुँदा प्रयोगात्मक रुपमा नै अगाडि बढ्नुपर्ने बताए । सरकारको सहयोग अहिले सिमित रहेता पनि कालान्तरमा फेस्टिभलको महत्व सरकारी निकायमा अझ बढ्दै जाने उनको विश्वास थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button