
जल तथा मौसम विज्ञान विभागले हाल मनसुनी वायुको प्रभाव रहेको हुँदा देशको धेरै स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ ।
अहिले मनसुनको न्यून चापीय रेखा सरदरको स्थानभन्दा दक्षिणतर्फ अवस्थित रहेको छ । विभागको मौसमी बुलेटिन अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाकिँ प्रदेशमा एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाकिँ प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसैगरी कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार आज राति देशभर सामान्य बदली रहनेछ भने सबै प्रदेशका पहाडी भूभागका केही स्थानहरु र बाकिँ भूभागका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
मेघ-गर्जन तथा चट्याङ्गका कारणले हुन सक्ने क्षति तथा बाढी, पहिरो, डुबान, भू-क्षय र गेग्रान बहावका कारण हुन सक्ने जोखिम बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।





