पोखराको सिर्जनाचोकस्थित जुत्ता शोरुममा महानगरले लगायो ताला

पोखरा, ०९ साउन । पोखराको सिर्जनाचोकमा हालै मात्र सञ्चालनमा आएको पोखराको फुटवेयर बिजनेस सेन्टरमा पोखरा महानगरपालिकाले ताला लगाएको छ । साउन ५ गते गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले उद्घाटन गरेको जुत्ताको उक्त शोरुमको मुख्य ढोकामा आज मंगलबार महानगरले ताला लगाएको हो ।

शोरुम सञ्चालनमा आएको मुख्य भवन नक्सा पास बेगर निर्माण भएको र अभिलेखीकरणमा समेत नगएको अवस्थामा शोरुम भित्र व्यवसायीहरूले पसल समेत दर्ता नगरी सञ्चालन गरेको भेटिएपछि महानगरबाट खटिएको नगर प्रहरीले ताला लगाएको वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले जानकारी दिए ।

‘पोखरा महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले दर्ता बेगर मेलाको शैलीमा भवनमा पसल सञ्चालन भएको भनेर गुनासो आएपछि दर्ता भएर प्रक्रिया पुरा नगर्ने बेलासम्मको लागि मंगलबार दिउँसो १ बजे शोरुममा ताला लगाइएको बताए । ‘महानगरबाट अनुमति नलिई निर्माण भएको भवनको भुईँ तलामा मेला जस्तो देखिने गरी दश वटा छुट्टाछुट्टै स्टल राखिएको रहेछ । स्टलको रूपमा रहेका पसलसमेत वडा, महानगर कतै पनि दर्ता नगरेको भेटिएपछि प्रक्रिया पुरा नगर्ने बेलासम्मका लागि ताला लगाएका हौँ,’ थापाले भने ।

यता भवनमा पोखरा जुत्ता भण्डार नामको पसल सञ्चालन गरेका सीताराम नेपालले वडा कार्यालयले असारको अन्त्यमा दर्ता गर्न जाँदा साउनमा दर्ता गर्न आउनु भनेको तर अहिले विना सूचना नै चलिराखेको शोरुममा ताला लगाएको आरोप लगाए । नेपाली जुत्ता ‘रन शुज’ का व्यवस्थापक समेत रहेका उनले उक्त भवन भित्र रहेको एउटा पसल यस अघि नै दर्ता भएको भए पनि वडा कार्यालय कै कारण अन्य ९ वटा पसल दर्ता हुन नसकेको बताए ।

यस विषयमा वडा अध्यक्ष बराललाई सोध्दा प्रक्रिया पूरा नभएकै कारण दर्ता रोकिएको र भवनको अभिलेखीकरण गरेर घरको निर्माण सम्पन्नको कागजातसहित दर्ता प्रक्रियामा आए तुरुन्तै दर्ता गरिने बताए ।

उक्त शोरुम भित्र शिखर, सु–ल्यान्ड, पिजी सुज, वन वर्ल्ड, फुटस्टेप, बोस सुज, रन सुज, ब्याम्बो सुज, स्मार्ट सुज र हिमानी कलेक्सन गरी १० वटा कम्पनीले स्टलको रूपमा १० वटा छुट्टाछुट्टै पसल राखेका छन् ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button